Breaking News

नवनिर्वाचित प्रधानमन्त्रीका चार प्रतिबद्धता

काठमाण्डौ, २४ जेठ । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो कार्यकालका चार प्रतिबद्धता अघि सारेका छन् ।

मंगलबार प्रधानमन्त्रीका रूपमा उम्मेदवारी प्रस्तुत गर्ने क्रममा उनले संविधानले तोकेबमोजिमका तीनवटै तहका निर्वाचन सम्पन्न गर्नेदेखि भूकम्पपीडितलाई राहत र पुनर्निर्माण सम्पन्न गर्नेसम्मका प्रतिबद्धता जनाएका हुन् । संसद्लाई सम्बोधन गर्दै उनले आगामी ७ माघ २०७४ भित्र बाँकी स्थानीय तहको निर्वाचनसहित तीनै तहको निर्वाचन गराउने प्रतिबद्धता जनाए ।

उनले विपक्षी दललाई समेत विश्वासमा लिएर संविधानका अन्तरवस्तुप्रति असन्तुष्ट मधेस केन्द्रित दलका मागअनुसार संविधान संशोधन गर्ने प्रतिबद्धता जनाए । प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले संसदमै निर्वाचन सम्पन्न गरेर संशोधनका विषयमा छलफल गर्न प्रस्ताव गरेलगत्तै देउवाले सकेसम्म निर्वाचनकै बीचमा संशोधन गरिने बताए ।

संसदमा उनले आफ्नो कार्यकालमा विकासको लहर ल्याई मुलुकलाई आर्थिक समृद्धिको मार्गमा लैजाने घोषणासमेत गरे। भिन्नअन्तर्राष्ट्रिय दातृ निकायसँगको समन्वयनमा विकासको लहर ल्याउने उनको घोषणा छ । देउवाले भूकम्पपीडितहरूको पुनःस्थापना गर्नु समेत आफ्नो प्राथमिकतामा रहेको बताए ।

उनले भने, ‘अब भूकम्पपछिको पुनर्निर्माणमा कसले के गर्‍यो\गरेन भन्ने कुरा छाडौं, सबै मिलेर काम गरौं ।’ देउवाले बिजुली, सिँचाइ,  ग्रामीण सडकसहितका क्षेत्रमा पूर्वाधार विकास आफ्नो अर्को प्राथमिकता भएको बताए । उनले अब द्रुत गतिमा आर्थिक विकास गर्न‘पर्ने भन्दै पूर्वाधारको विकासमा समेत डटेर लाग्ने र त्यसका लागि पुँजी जम्मा गर्नेतर्फ ध्यान दिइने बताए ।

सडक सञ्जाल पूर्वाधारको सबैभन्दा महत्त्वपूर्ण विषय भन्दै देउवाले जनताले गरेको उत्पादनलाई बजारसम्म पुर्‍याउन सडकलगायतको पूर्वाधार आवश्यक रहेको औल्याउँदै आफू यसलाई सहजीकरण गर्न प्रतिबद्ध रहेको जनाए । उनले देशको राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर परराष्ट्र नीति बनाउने प्रतिबद्धता पनि जनाए ।

नेपालको भूमि भारत र चीनविरुद्ध प्रयोग हुन नदिने भन्दै उनले दुवै छिमेकी मुलुकसँगको सम्बन्ध आफ्नो कार्यकालमा सुमधुर रहने प्रतिबद्धतासमेत जाहेर गरे । आफ्नो कार्यकालभर कम बोल्ने र धेरै काम गर्ने उनको प्रतिबद्धता छ । याे खबर कान्तिपुर दैनिकमा छ ।

shares