Breaking News

प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा भोलि त्रिभुवन आर्मी र पुलिस भिड्ने

काठमाण्डौ, २३ जेठ । पश्चिमाञ्चललाई ४ विकेटले हराउँदै त्रिभुवन आर्मी क्लब प्रथम प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित क्रिकेट मैदानमा आज भएको सेमिफाइनलमा आर्मी फाइनल प्रवेश गरेको हो । आर्मीले अब उपाधिका लागि भोलि फाइनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । पश्चिमाञ्चलले दिएको २ सय ३६ रनको लक्ष्य आर्मीले ४८.२ ओभरमा २ सय ४१ रन बनाउँदै भेट्टायो । आर्मीको जितमा सागर पुनले सर्वाधिक ६५ रनको योगदान दिए । त्यस्तै, अनिल मण्डलले ४८, राजेश पुलामी मगरले नटआउट ५५, राजु रिजालले २६ तथा सोमपाल कामीले नटआउट १० रन जोडे ।

बलिङ तर्फ पश्चिमाञ्चलका लागि धिरज शाहीले २ तथा विपिन खत्री, कृष्ण कार्की र रोहितकुमारले समान १/१ विकेट लिए । यसअघि, टस गुमाएर पहिले ब्याटिङ गरेको पश्चिमाञ्चलले ९ विकेटको क्षतिमा २ सय ३५ रन बनायो । पश्चिमाञ्चलका लागि सौरभ खनालले ८२ तथा कृष्ण कार्कीले ७५ रन बनाए । त्यस्तै, नुरध्वज सेनले २६, प्रकाश केसीले १३ तथा विपिन खत्रीले नटआउट १ रन बनाए । आर्मीका लागि सोमपाल कामी, जितेन्द्र मुखिया सागर पुन र शाहव आलमले समान २/२ तथा सुशन भारीले १ विकेट लिए ।

सर्वाधिक धनराशिको प्रतियोगिता प्रधानमन्त्री कप क्रिकेट अन्तर्गत भोली हुने फाइनलको विजेताले २० लाख र उपविजेताले १० लाख नगद पुरस्कार पाउने छन् ।

shares