देउवा मुलुकको ४० औं प्रधानमन्त्री

काठमाण्डौ, २३ जेठ । मुलुकको ४० औं प्रधानमन्त्रीको रुपमा कांग्रेसका नेता शेरबहादुर देउवा विजयी भएका छन् ।

योसँगै उनी चौंथोपटक प्रधानमन्त्री बनेका छन् । पहिलोपटक २०५२ देखि २०५३ सम्म प्रधानमन्त्री बनेका देउवा दोस्रो कार्यकालका रुपमा २०५८ देखि २०५९ सम्म प्रधानमन्त्री रहे । तेस्रो पटक २०६१ जेठमा तेस्रो पटक प्रधानमन्त्री भएका देउवा जम्मा ८ महिना मात्रै सत्तामा रहे । थप २०७४ जेठ २३ गते प्रधानमन्त्री बन्दै उनले चारपटक प्रधानमन्त्री बन्ने अवसर प्राप्त गरेका हुन् ।

आज संसदमा खसेको कुल ५५८ मतमध्ये देउवाले ३८८ मत प्राप्त गरे भने उनको विपक्षमा केवल १७० मत खस्यो ।

कसरी आए राजनीतिमा ?
२०२२ सालमा सुदूरपश्चिमाञ्चल विद्यार्थी संघका संस्थापक सदस्य रहेका देउवा २०२३ सालमा तरुण सभाको अध्यक्ष भएर राजनीतिमा सशक्त रुपमा होमिए । १३ औं महाधिवेशनमा पार्टी सभापति बन्दै देउवा कांग्रेसका सशक्त र प्रभावशाली नेताका रुपमा चिनिन थाले ।

२०४८ देखि २०५१ सम्म गिरिजाप्रसाद कोइरालाको सरकारमा गृहमन्त्रीको पद सम्हालेका उनी २०५२ बाट २०६१ सम्म आइपुग्दा तीनपटक नेपालको प्रधानमन्त्री बन्न सफल भए । थप २०७४ जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित हुँदै देउवाले चौथोपटक प्रधानमन्त्रीको बागडोर सम्हाल्ने अवसर प्राप्त गरेका छन् ।

देउवासँग विभिन्न राजनीतिक संघर्षका क्रममा झण्डै ९ वर्ष जेलजीवन बिताएको इतिहास पनि छ । पत्नी आरजु देउवा सांसद रहेकी देउवाका एकमात्र सुपुत्र जयवीर देउवा हुन् ।