Breaking News

न्यायपालिकाको निर्णय स्विकार्दै एमाले अघि बढ्ने नेता रावलको जोड

काठमाण्डौ, २२ जेठ । प्रमुख प्रतिपक्षी दल एमालेका उपाध्यक्ष भीमबहादुर रावलले स्वतन्त्र न्यायपालिकाको निर्णय स्वीकार गरेर पार्टी अगाडि बढ्ने बताएका छन् ।

काठमाण्डौमा आज भएको साक्षात्कारमा उपाध्यक्ष रावलले चितवनको भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएको घटनाका बारेमा सर्वोच्च अदालतले गर्ने निर्णयलाई स्वीकार गर्ने बताएका हुन् । रावलले भोलि हुने प्रधानमन्त्री निर्वाचन प्रक्रियामा आफ्नो दलले पनि भाग लिने जानकारी दिए ।

उक्त साक्षात्कारमा नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले कांग्रेससँग भएको सहमतिअनुसार नै माओवादी केन्द्रले आफ्नो नेतृत्वको सरकारबाट राजीनामा दिएको बताउँदै सरकारमा जाने विषयमा पार्टीभित्र कुनै विवाद नरहेको स्पष्ट पारे ।

त्यस्तै राष्ट्रिय जनता पार्टी नेपालका नेता राजकिशोर यादवले सरकारसँग भएको वार्ता तथा संवाद सकारात्मक दिशामा अगाडि बढेको भन्दै यसको लिखित सम्झौता आए भोलि हुने प्रधानमन्त्री निर्वाचनमा नयाँ प्रधानमन्त्रीलाई मतदान गर्ने बताए । यादवले प्रधानमन्त्रीलाई सहयोग गर्ने वा नगर्ने स्थानीय तहको निर्वाचनमा जाने÷नजाने भन्नेबारे राजपाभित्र कुनै विवाद नरहेको पनि प्रस्ट्याए ।

shares