श्रीलंकासँग नेपालको फराकिलो हार

२३ माघ, काठमाण्डौ । भारतमा जारी दोस्रो ब्लाइण्ड वल्र्ड कप टी २० क्रिकेटमा नेपालले पाँचौ हार बेहोरेको छ । आइतबार भएको आफ्नो छैटौं खेलमा नेपाल श्रीलंकासँग १३१ रनको फराकिलो अन्तरले पराजित भएको हो ।

२७५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४३ रन मात्र बनायो ।

यसअघि भएको खेलमा नेपाल अष्ट्रेलिया, बंगलादेश, पाकिस्तान र वेष्टइन्डिजसँग पराजित भइसकेको छ भने दक्षिण अफ्रिका विरुद्व विजयी भएको थियो।

महाराष्ट्रस्थित पुन विवाइसी ग्राउण्डमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा २७४ रन बनाको थियो ।

श्रीलंकाका लागि सुरंगा समपाथले शतक प्रहार गरे । उनले ४८ बलमा १९ चौका र एक छक्काको मद्दतमा १११ रन बनाएका थिए । यस्तै रुवान वासान्थले ७६, रुवान करुणथिलकाले ३३ रन बनाए । कभिदु थोमा दुरा ३२ रनमा नटआउट रहे ।

जवाफमा नेपालले १४३ रन मात्र बनाउन सक्यो । नेपालका लागि सुनिल थापा मगरले सर्वाधिक ३८ रन बनाए । यस्तै किर्तन श्रेष्ठ दुवाल ३७ तथा पदम बहादुर २३ रनमा नटआउट रहे ।

अर्को खेल नेपालले मंगलबार इंगल्याण्डसँग खेल्नेछ ।