September 23, 2017

नवजात शिशु लिएर अज्ञात महिला फरार, अस्पतालमा तनाव

राम कुशवाहा

२१ माघ बीरगंज ।  नारायणी उपक्षेत्रीय अस्पतालबाट अपरिचित महिलाले शुक्रबार विहान जन्मिएको नवजात शिशुलाई लिएर फरार भएपछि अस्पताल क्षेत्र तनाव ग्रस्त बनेको छ ।

अस्पतालको प्रसुति गृहमा बीरगंज छपकैया १ निवासी आशा देवी पासवानले शुक्रबार विहान १०ः४० बजे जन्माएको छोरालाई लिएर अपरिचित महिला शुक्रकार दिउसो साढे २ बजे फरार भएकी हुन् ।

सुत्केरी महिलाको रेखदेखका लागि रहेकी निजकी आमा रमावती देवी पासवानलाई आफूले बच्चा खेलाउने आश्वासन दिदै सुत्केरीलाई आवश्यक पर्ने सामग्री लिन पासवानलाई बाहिर पठाएपछि अन्दाजी ३०/३२ बर्षिय अज्ञात महिलाले शिशुलाई प्रसुति कक्षबाट बाहिर लिएर बेपत्ता भएको पिडितका आफन्तले बताएका छन् ।

बच्चा जन्मिए संगै विहानै बाट पटक पटक आएकी अज्ञात महिलाले आफूलाई विश्वासमा पारेर बच्चा खेलाउने आश्वासन दिएको कारण आफू सुत्केरी बुहारीको औषधी लगायतका सामग्री लिन बाहिर जांदा सुत्केरी कक्षमा बच्चा र महिला दुवै नदेखेपछि आफूले बच्चा हराएको भन्दै अस्पताल प्रशासनलाई जानकारी दिएको रमावती देवीले बताएकी छन् ।

घटना पछि पिडितका आफन्तहरुले हराएको बच्चा तत्काल उपलब्ध गराउन अस्पताल प्रशासनलाई दवाव दिदै नारायणी उपक्षेत्रिय अस्पतालको प्रसुति गृहको च्यानल गेट बन्द गरी प्रदर्शनमा उत्रिएका छन् ।

आक्रोशित आफन्तको प्रदर्शनपछि नारायणी उपक्षेत्रिय अस्पतालमा तनाव पूर्ण भएको छ । घटना पछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको र बिरगंजका विभिन्न नाकाहरुमा समेत हाईअलर्ट रुपमा प्रहरी खटाईएको र बच्चा लिएर भाग्ने महिलाको खोजतलास भई रहेको पर्साका प्रहरी उपरिक्षक गोविन्द कुमार साहले बताएका छन् ।