October 23, 2017

प्रहरी चौकी भवन निर्माणमा मजदुर यसरी ठगीए

मिन बम

२२ माघ, दिपायल डोटी । चवरा चौतारा–९ बिठारीगाउँका भगत बिठारी गाउँमा बनेको प्रहरी चौकीको भवन निर्माण गर्ने क्रममा ठेकेदारबाट ठगीएका छन् । गाउँमा ७४ लाखको लागतमा प्रहरी चौकी बन्ने भए पछि भारतमा मजदुरी गर्दै आएका बिठारी २०६९ सालमा घर आए थिए । उनले प्रहरी चौकी निर्माणको लागि दुई वर्ष सम्म ढुंगा निकालेको ६८ हजार तीन सय रुपैया आझै पाउन सकेका छैन् ।

उनीजस्तै गाउँका ४७ जना भन्दा बढी सो प्रहरी चौकीका ठेकेदार सँग ठगीएका छन् । चवरा चौतारा–८ की खिमा भुलले भनीन ‘छाक टार्न भनेर दुख गरी गिट्टी कुटे त्यो पैसा समेत दिएनन् ।’ ‘स्थानीय नवजागरण सामुदायिक बनको काठको पूर्जी बाफत रकम पनि ठेकेदारले कुम्ल्याएका छन् ।’

भवन प्रयोगमा ढिलाई

चनुकाँडा प्रहरी चौकीको भवन द्वन्द्वकालमा तत्कालिन विद्रोही माओबादीले ध्वँस्त पारेका थिए । द्वन्द्वको अवसानसंगै सो ठाउँमा प्रहरी चौकी पुनःस्थापना गरियो । भवन अभावमा हालसम्म चौकी भाँडाको घरमा बसिरहेको छ ।

शान्ति तथा पुनःनिर्माण मन्त्रालयले उपलब्ध गराएको बजेटका आधारमा कैलालीको केएस रुद्रावती जेभीको टेण्डर स्वीकृत भयोे । जसअनुसार २०६९ माघ माघ १९ गते सो कम्पनी र जिल्ला प्रहरी कार्यालय डोटीका बिचमा भवन निर्माण गर्ने सहमती भएको थियो । जसमा मूल्य अभिबृद्धी कर सहित ७३ लाख ६२ हजार पाँच सय १८ रुपैँयाको लागत तोकिएको थियो । दुई वर्षमा निर्माण सम्पन्न गरिसक्ने सम्झौता थियो । तर, म्याद थप्दाथप्दै गत असोज २८ गते ठेकेदारले निर्माण सम्पन्न गरेर जिल्ला प्रहरीलाई हस्तान्तरण गरेका छन् ।

भवन निर्माण भैसकेको ४ महिना बित्नैलाग्दा प्रहरी चौकी नयाँ भवनमा सर्न सकेको छैन् । स्थानीय मजदुरले पैसा नपाएको भन्दै अबरोध गरेका कारण प्रहरी भवन प्रयोग गर्न सकिरहेको छैन । ठेकेदारले रकम नदिएको भन्दै पहिलेदेखी नै मजदुरहरुले गुनासो गरिरहेका थिए । जिल्ला प्रहरी प्रमूख प्रहरी उपरिक्षक दिल्लीराज विष्टले भने । उतिबेला अन्तिममा मिलान गर्न पहल गरौला भनेका थियौ । अहिलेसम्म ठेकेदारले तिरेको रहेनछ । जसले समस्या निम्त्याएको छ ।

रकम तिर्न ठेकेदारको आनाकानी

पहिले स्थानीय मजदुरहरुले पैसा नपाएको भन्दै निर्माण कार्यमा अबरोध पु¥याएका थिए । त्यसक्रममा स्थानीय ४७ जना मजदुर लगायतका ब्यक्तिहरुले १० लाख ४ हजार ६ सय ६३ रुपैँया ठेकेदारबाट नपाएको उजुरी प्रहरीलाई गरेका थिए । सोही उजुरीका आधारमा प्रहरी चौकी चनुकाँडाले ठेकेदार प्रतिनिधि टिकाराम भट्टको उपस्थिती सहितको पत्र गत असार २३ गते जिल्ला प्रहरी कार्यालयमा पठाएको थियो । सोही आधारमा जिल्ला प्रहरीले ठेकेदारको अन्तिम निकासामा सबै समस्या समाधान गर्न पहल गर्ने भनेपछि काम सूचारु भएको थियो ।

भवन निर्माणपछि प्रहरीको जिम्मा आईसकेको छ । त्यसपछि नियमसंगत रुपमा जिल्ला प्रहरीले ठेकेदारलाई अन्तिम किस्ता बाफत दिनुपर्ने ६ लाख रुपैँया ठेकेदारको सिलगढी स्थित राष्ट्रिय बाणिज्य बैंकको खातामा जम्मा गरिसकेको छ । ठेकेदार शंकर शर्माले रकम तिर्न आनाकानी गर्नथालेपछि उनको खाता प्रहरीले रोकेर राखेको छ ।

गाउँमा मजदुरहरुले गुनासो गरिरहेका छन् । त्यसकारण समस्या गाउँबाटै समाधान गरेर आउन ठेकेदारलाई भन्यौं प्रहरी उपरिक्षक बिष्टले भने । उनि रकम नतिर्ने मनसायमा देखिए । त्यसैले रकम खाता रोकेका हौ ।

ठेकेदार शर्मा मजदुरहरुसंग छलफलका लागि गाउँमा समेत गैरहेका छैनन् । हामीले गाउँमा पुगेर छलफल त गर्नुस बरु हामी सुरक्षा दिन्छौ, भनीरहेका छौ । तर पनि मान्दैनन् प्रहरी उपरिक्षक बिष्टले भने ।

उता मजदुरहरुसंग ठेकेदार शर्माले उनका पेटी ठेकेदार अम्मर बहादुर पालसंगको हिसाबकिताबमा आफुलाई मतलब नभएको बताउदै आएका छन् । शुरुवातमा शर्माले कामका लागि पाललाई पेटी ठेकेदारका रुपमा काम जिम्मा दिएका थिए । उनी बिचमै काम छाडेर हिडेका थिए । ‘हामीले चिन्ने त प्रहरी चौकीको भवन हो,’ मजदुर नारायण धामीले भने,‘अरु ठेकेदार को हुन ? को हुन ?’

खाता खोलाउन ठेकेदार शर्मा ‘दबाब’को सहारा लिईरहेका छन् । उनी कांग्रेस निकट हुन् । त्यसैले कांगे्रस नेता तथा गृह मन्त्रालयसम्मको दबाब प्रयोग गरिरहेको स्रोत बताउछ । ‘निर्माण व्यबसायी तथा जिल्लाको पावर लगाउन खोजिरहेका छन्,’ प्रहरी उपरिक्षक बिष्टले भने । जे भएपनि प्रहरीसंगै जोडिएको केश भएकाले जबसम्म गाउँबाट समस्या समाधान गरेर ल्याउदैनन् खाता रोक्का नै हुन्छ । मन्त्रालयको पावरका बिषयमा उनले जवाफ दिएनन् । ठेकेदारले कानुनी ब्यबस्थाको धम्की दिदै बैंकलाई पनि दबाब दिईरहेको बताए ।