August 19, 2017

उपराष्ट्रपति पुनले गरे ईयु र ईजरायलका राजदूतसँग शिष्टाचार भेट

काठमाण्डौ, १४ वैशाख । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ सँग नेपालका लागि युरोपियन यूनियन (ईयू) का राजदूत र ईजरायलका राजदूतले शिष्टाचार भेट गरेका छन् ।

बिहीबार अपरान्ह उपराष्ट्रपतिको कार्यालय, कान्तिपथ बहादुरभवन पुगेर ईयूका राजदूत रिन्छे टेरेन्क र ईजरायलका राजदूत यारोन मेयरले छुट्टा–छुट्टै शिष्टाचार भेट गरेका हुन् ।

उपराष्ट्रपतिले यूरोपियन यूनियनका राजदूसँगको भेटमा नेपाल र ईयूबीचको सम्बन्धलाई जनस्तरसम्म प्रगाढ बनाउनुपर्नेमा जोड दिए। भेटमा उपराष्ट्रपतिले नेपाली जनताको लामो संघर्षपछि प्राप्त अधिकारको संस्थागत गर्नका लागि नेपाल निर्वाचनतर्फ अग्रसर रहेको बताउँदै आसन्न स्थानीय तहको निर्वाचनले सिंहदरबारमा केन्द्रित जनताको अधिकार जनताको घर आँगनमा पुग्ने विश्वास व्यक्त गरे ।

त्यस्तै ईयूका राजदूतले निर्वाचन नेपालको आन्तरिक मामिला भएको बताउँदै स्थानीय तहको निर्वाचनका लागि सफलताको शुभकामना पनि दिइन् ।

आजै ईजरालयका राजदूतसँगको भेटमा नेपाल र ईजरायलबीचको सम्बन्धलाई जनस्तरसम्म प्रगाढ बनाउनुपर्नेमा उपराष्ट्रपति पुनले जोड दिए । उपराष्ट्रपतिसँगको भेटमा ईजरायलका राजदूतले नेपाल घुम्नका लागि उत्कृष्ट गन्तव्य भएको र राजनीतिक स्थायित्व हाँसिल गरिरहेकोले आफ्ना नागरिकलाई नेपाल घुम्न प्रोत्साहित गरिरहेको बताए ।