August 18, 2017

स्थानीय निकायको निर्वाचनमा जुट्न कार्यकर्तालाई देउवाको निर्देशन

२१ माघ, काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि स्थानीय निकायको निर्वाचनमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

नेपाली काग्रेसको भ्रातृ सङ्गठन नेपाल ट्रेड युनियन काँग्रेसको दुई दिने राष्ट्रिय परिषद् बैठकलाई शुक्रबार काठमाडौमा सम्बोधन गर्दै सभापति देउवाले संविधान कार्यन्वयनको लागि निर्वाचन आपरिअपरिहार्य रहेको बताएका छन् ।

सभापति देउवाले संविधान कार्यान्वयनका लागि निर्वाचनमा जानुको विकल्प नरहेको बताउदै तीनवटै निर्वाचन सम्पन्न गर्नुपर्ने चुनौती रहेको बताए ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान सबै राजनीतिक दलको सम्झौताबाट आएको हुँदा मजदुरले उठान गरेका सबै माग समेट्न नसकिएको स्पष्ट पार्दै श्रम ऐन संशोधनबाट श्रमिकका माग पूरा गर्न सकिने बताए ।

महामन्त्री डा शशाङ्क कोइरालाले संविधान कार्यान्वयन गर्न एक वर्षभित्रमा तीनवटा निर्वाचन सम्पन्न गर्नुपर्ने जिम्मेवारीलाई पूरा गर्न नेपाली कांग्रेसले तयार रहेको बताएका छन् ।

कार्यक्रममा बोल्दै अन्य नेताहरुले जनताले दोस्रो संविधानसभाको निर्वाचनमा मत दिए जस्तै स्थानीय निर्वाचनमा पनि नेपाली कांग्रेसलाई मत दिने विश्वास समेत व्यक्त गरे ।