October 24, 2017

सडकका खाल्डाखुल्डी तत्काल पुर्न संसदीय समितिको निर्देशन

२१ माघ, काठमाण्ठौ । मेलम्ची खानेपानी आयोजनाको पाइप विच्छाउने क्रममा भत्काइएका सडकको खाल्डाखुल्डी तत्काल पुर्न संसदीय समितिले निर्देशन दिएको छ ।

सिंहदरबारमा शुक्रबार बसेको व्यबस्थापिका संसद अन्तर्गतको बिकास समितिले मेलम्ची खानेपानीको काम भइरहेको ठाउँमा पनि पानी छर्कन र सडकको धुलो सफा गर्ने ब्रुमर मेसिनको प्रयोग गर्न पनि निर्देशन दिएको छ ।बैठकले मेलम्ची खानेपानी आयोजनाको कार्यप्रगति सन्तोषजनक भएपनि सडकमा खनिएका खाल्डाखुल्डी पुर्न ढिलाई भएको भन्दै असन्तुष्टि जनाएको छ ।

भत्काइएका सडक तथा खाल्डाखुल्डी पुर्ने काम पनि रातकै समयमा गर्न उपत्यका विकास प्राधिकरण, सडक विभाग, काठमाडौं महानगरपालिका र ललितपुर उपमहानगरपालिकालाई निर्देशन दिएको छ । समितिमा उपस्थित काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारीले सडक विस्तारकै कारणले मात्र सडकमा धुलो उडेको नभई उक्त सडकमा गुड्ने सवारी साधन पनि कारक भएको जिकीर गरेका छन् । उनले मेलम्ची खानेपानी आयोजनाले उपत्यकाको अधिकांश ठूला सडकमा खानेपानीको पाईप ओच्छ्याउने काम अबको सात दिनभित्र भित्र सकाएर सम्बन्धित निकायलाई जानकारी गराईने र सडक निर्माणको काम पनि सुरु हुने बताए ।

बैठकमा उपस्थित समितिका सदस्यहरुले सडकमा कुहिरीमण्डल बनेर उडेको धुलोले मानव स्वास्थ्यमै जटिलता निम्त्याएको भन्दै मानवजिवनको स्वास्थ्यलाई ख्याल राख्ने काम गर्न ध्यानाकर्षण गराएका थिए । बैठकले बिच्छ्याइएका पाइपको तत्काल परीक्षण गरी १५ दिनभित्र सडक हस्तान्तरण गर्न र त्यसको ४५ दिनभित्र मर्मत गरिसक्न पनि निर्देश गरेको छ ।