November 17, 2017

प्रदेश नं दुईका वकिलहरु बार सदस्यबाट सामूहिक राजीनामा दिदै

२२ माघ, जनकपुर । नेपाल बार एशोसिएनले उच्च अदालतका ८२ न्यायाधीश नियुक्तिविरुद्ध आन्दोलनको अगुवाई गर्न नसकेको भन्दै प्रदेश नं दुईका वकिलहरुले छुट्टै आन्दोलन सार्वजनिक गर्नुका साथै बार सदस्यबाट सामूहिक राजीनामा दिने घोषणा गरेका छन् ।

उच्च अदालतका ८२ न्यायाधीश नियुक्तिविरुद्ध आन्दोलन थालेको बार र सर्वाेच्च प्रशासनबीच सातबुँदे सहमति भएको थियो । तर, शनिबार जनकपुरमा भएको प्रदेश नम्बर दुईका कानुन व्यवसायीहरुको भेलाले उच्च अदालतको न्यायाधीश नियुक्तिमा बारले अभिभावकको भूमिका खेल्न नसकेको भन्दै सामूहिक राजीनामा दिने निर्णय गरेको छ । यहि माघ २६ गते बारका अध्यक्षसहितका पदाधिकारीहरुलाई भेटेर राजीनामा बुझाउने बैठकको निर्णय छ ।

प्रदेश नं दुईका कानुन व्यवसायीहरुको भेलाले माघ २९ गतेसम्म अदालत बहिस्कार गर्ने निर्णय गरेको छ । साथै बार कार्यालय अगाडि मागपत्रसहितको ब्यानर तथा तुल राख्ने र २४ गते ११ देखि एक बजेसम्म अदालत अगाडि धर्ना दिने निर्णय भएको छ ।