October 19, 2017

मुलुकभित्र वस्तु, सेवा र पुँजीको आवतजावतमा कुनै प्रकारको दोहोरो कर नलाग्ने

काठमाण्डौ, २८ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले सङ्घीय प्रणालीमा मुलुकभित्र वस्तु, सेवा र पुँजीको आवतजावतमा कुनै प्रकारको दोहोरो कर नलाग्ने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घको ५१औं साधारणसभालाई सम्बोधन गर्दै सङ्घीय प्रणालीमा सरकारका तहबीच दोहोरो कर नलाग्ने र जिम्मेवारीको बाँडफाँडका कारणले दुई वा सोभन्दा बढी तहमा उद्योगी व्यवसायीले व्यहोर्नु पर्ने प्रक्रियागत झन्झट कम गर्न सरकार सचेत भएर काम गर्ने प्रधानमन्त्रीले जानकारी दिए ।

उद्योग व्यवसायको प्रबर्द्धन र सर्वसाधारणको सुविधाका लागि उपलब्ध विद्युत्को कुशल व्यवस्थापन गर्दै विद्युत्भार कटौती क्रमशः अन्त्य गर्दै लगिएकाले औद्योगिक वातावरण बन्दै गएको दाहालले बताए ।

कार्यक्रममा महासङ्घका अध्यक्ष पशुपति मुरारकाले मुलुकको औद्योगिक क्षेत्रलाई माथि उठाउन स्वदेशी उद्योगको प्रबर्द्धन आवश्यक भएको बताउँदै सरकार र निजी क्षेत्र सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

त्यसैगरी महासङ्घका वरिष्ठ उपाध्यक्ष भवानी राणाले लगानीका लागि नेपाल उर्वरभूमि भएको बताउँदै पूर्वाधार विकासमा सरकारले सहयोग गरेर आर्थिक समृद्धिमा सघाउनुपर्ने बताए ।

कार्यक्रममा महासङ्घका पूर्व अध्यक्षहरु महेशलाल प्रधान, विनोदकुमार चौधरी, पद्यम ज्योति, आनन्दराज मुल्मी, प्रदीपकुमार श्रेष्ठ, रविभक्त श्रेष्ठ, चण्डीराज ढकाल, लगायतलाई सम्मान गरिएको थियो ।