संविधान संशोधनको विषय नेपालको आन्तरिक मामिला हो– भगतसिंह कोशियारी

नयाँ दिल्ली, २ चैत्र । भारतीय जनता पार्टीका नेता भगतसिंह कोशियारीले नेपालको संविधान संशोधन गर्ने वा नगर्ने भन्ने विषय नेपालको आन्तरिक मामिला भएको बताएका छन् ।
नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेता कोशीयारीले यस्तो बताएका हुन् । यद्दपि उनले चुनाव र संविधान संशोधन प्रस्तावलाई सँगसँगै लिएर जाँदा नै उत्तम हुने बताए ।

धमलासँगको कुराकानीमा उनले भनेका छन्, ‘नेपाल एक सार्वभौम राष्ट्र हो, त्यसैले हामीले नेपाललाई कुनै गाईड गर्न सक्दैनौं र निर्देशन दिन पनि सक्दैनौं ।’
नेता कोशीयारीले मौसममा कहिले गर्मी, कहिले जाडो, कहिले उतार त कहिले चढाव आएझैं सम्बन्धमा पनि उतारचढाव आउने बताए ।

समग्रमा नेपाल र भारतबीचको सम्बन्ध राम्रो भइरहेको छ । नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि द्विपक्षीय आपसी सम्बन्ध, आर्थिक तथा व्यापारिक सम्बन्ध थप मजबुत बनेको बताएका छन् ।

नेपालको चुनावलाई लिएर भारत सरकारको दृष्टिकोण के छ ? त भन्ने धमलाको प्रश्नमा उनले थपे, ‘हाम्रो दृष्टिकोणले त्यहाँ कुनै फरक पार्दैन् । हामी छिमेकी मित्र राष्ट्रका नाताले के भन्छौं भने सबैलाई साथमै लिएर जाँदा नै राम्रो हुन्छ।’ त्यस्तै उनले आफूहरुले नेपालको मधेशलाई मधेशको रुपमा नदेखेको बरु नेपाललाई एज अ होल नेपालको रुपमा देखेको बताए ।

नेपाल मामिलाका जानकार समेत रहेका नेता कोशीयारीले नेपालको चुनावलाई लिएर कहीँकतै पनि आफूहरुले विरोध नगरेको स्पष्ट पारे । उनले भने, ‘हामीले कहीँकतै पनि चुनावको विरोध गरेका छैनौं, हम्रो भनाई त यति हो कि तपाईहरुले कसैलाई सहमतिमा लिएर जाने भनेर वचन दिनुभएको छ भने कम से कम त्यो वचन त पालना गर्नुहोस् भन्ने हो ।’

उनले मधेशी मोर्चाले चुनावमा भाग नलिनुको कारणबारे उनले यो नेपालको आन्तरिक मामिला भएको बताए । उनले थपे, ‘हामी त यति भन्छौं कि तपाईहरुबीचको आपसी झगडा समाप्त गर्न वा समाधान गर्नको लागि कुनै सम्झौता गर्नु भएको छ भने त्यसलाई पालना गर्नुहोस् । छिटो भन्दा छिटो संविधान कार्यान्यन गर्नुहोस् । छिटो भन्दा छिटो चुनाव गराउनुहोस् । भारत त नेपालमा सँधै शान्ति, स्थायित्व र आर्थिक विकास चाहन्छ ।’