संविधान संशोधन गर्न सकिन्न : एमाले नेता चौलागाई

२५ माघ, भक्तपुर । नेपाल एमालेका पोलिटब्यूरो सदस्य पशुपति चौलागाईले अंगीकृत नागरिकता पाएका एकाध व्यक्तिले भन्दैमा संविधान संशोधन गर्न नसकिने बताएका छन् ।

मंगलबार रफत सञ्चार क्लवमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता चौलागाईले मधेशी जनता संविधान संशोधनको पक्षमा नभएको बताए ।

संसदले संविधान संशोधन गर्न नसक्ने बताउँदै संविधान संशोधन मधेशी जनताको माग नभई मधेशका एकाध अंगीकृत नागरिकता पाएका ब्यक्तिको माग भएको उनको आरोप छ । मधेशी मोर्चाकोे नाममा जो सँगठीत भएर आएकाहरु मधेशी जनताविरोधी, राष्ट्रविरोधी भएको चौलागाइले आरोप लगाए ।

निर्वाचनबाट दुई तिहाई ल्याएर संविधान संशोधन गर्न मधेशी मोर्चालाई उनले चुनौती दिए । उनले आजको आवश्यकता संविधान संशोधन नभई निर्वाचन भएको बताए । सरकारले निर्वाचनको नाममा जनताको आँखामा छारो हाल्ने कार्य गरिरहेको उनले आरेप लगाए ।

९० प्रतिशतभन्दा बढी बहुमतले पारित गरेको संविधानलाई केहि मधेशवादी नेताले भन्दैमा संविधान संशोधन गर्न नसकिने बताउँदै प्रचण्ड नेतृत्वको सरकार निर्वाचन नगर्न नाटक मञ्चन गरिरहेको चौलागाईको भनाइ थियो ।

कांग्रेसभित्र निर्वाचन गराउने र नगराउने दुई धार रहेकाले कांग्रेसको इतिहासलाई ख्याल गर्दै शक्ति केन्द्रको निर्णय नकुर्न उनले कांग्रेस सभापति देउवालाई आग्रहसमेत गरेका छन् ।

एमाले कुनै पनि हालतमा जेठको पहिलो साताभित्र निर्वाचन गर्नुपर्ने पक्षमा रहेको बताउँदै निर्वाचन गर्न नसके सरकारको औचित्यता समाप्त हुने उनले बताए ।
दुनियामा सत्तापक्ष निर्वाचनको पक्षमा हुने गरेको भएपनि नेपालमा भने कहि नभएको प्रतिपक्षले निर्वाचन गर भन्दा पनि नगर्ने सरकार निर्वाचनबाट डराइरहेको उनले बताए ।