नेपाली उत्पादनको छुट्टै विक्रि कक्ष रहने

२३ माघ, काठमाण्डौ । विश्वका ठुला अर्थतन्त्र भएका देश अमेरिका, चीन, भारत र जापान जस्ता विश्वका बिभिन्न शहरहरुमा नेपाली उत्पादनहरुको छुट्टै बिक्रि कक्ष स्थापना हुने भएको छ ।

उद्योग मन्त्रालयको पहलमा अमेरिका, चीन, जापान, भारत, याङगुन, म्यान्मार र कोरियाका १६ शहरमा नेपाली उत्पादनका छुट्टै बिक्रि कक्ष सञ्चालनमा आउन लागेका छन् । काठमाडौं महानगरपालिकाको भगिनी सम्बन्ध स्थापित शहरहरुमा त्यस्ता बिक्रि कक्ष स्थापना गर्न उद्योग मन्त्रालय र महानगरपालिकाबिच आईतबार सम्झौता भएको हो ।

सो सम्बन्धी सम्झौता पत्रमा उद्योग मन्त्रालयका तर्फबाट सह सचिव दिनेश घिमिरे र  काठमाण्डौ महानगरपालिकाका तर्फबाट महानगरपालिकाका कार्यकारी प्रमुख रुद्र सिंह तामाङ्गले हस्ताक्षर गरेका छन् । सहमती अनुसार काठमाण्डौ महानगरपालिकाको भगिनी सम्बन्ध स्थापना भएका शहरहरुमा महानगरपालिकाले नेपाली वस्तुहरुको विक्री गर्ने उद्धेश्यले प्रदर्शनी तथा विक्री कक्ष संचालनमा ल्याउन लागेको हो ।

यसबाट नेपाली वस्तुहरुका लागि ग्राहक बढ्नुका साथै नेपाली उद्योगहरुको विकास र विस्तारमा टेवा पुग्ने उद्योग मन्त्री नविन्द्रराज जोशीले बताए । कार्यक्रममा काठमाडौं महानगरपालिकाका कार्यकारी प्रमुख रुद्र सिंह तामाङ्गले नेपाली उत्पादनलाई विश्वभर फैलाउन सम्झौताले महत्वपुर्ण भूमिका खेल्ने अपेक्षा गरेका छन् ।