June 24, 2017

सम्झैता गरे बराबरको इन्टरनेट स्पीड नदिने कम्पनीले ग्राहकलाई नै क्षतिपूर्ति दिनुपर्ने

२२ माघ, काठमाण्डौ । ग्राहकसँग सम्झैता गरे बराबरको इन्टरनेट स्पीड नदिने सेवा प्रदायक कम्पनीलाई सरकारले कारवाही गर्ने भएको छ । भनेजति स्पीड नदिएर ठगी गर्ने कम्पनीले अब ग्राहकलाई नै क्षतिपूर्ति दिनुपर्ने ब्यवस्था गर्न लागिएको हो ।

सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले केही समयभित्रै टेलिकम सेवामा प्रतिवद्धताअनुरुप गुणस्तरीय सेवा नदिने कम्पनीलाई कारवाही स्वरुप ग्राहकलाई क्षतिपूर्ति दिने ब्यवस्था गर्न लागिएको बताए ।

५ सय १२ केपिबिएसको इन्टरनेट जोडेका ग्राहकले २४ घण्टै त्यतिनै गतिको इन्टरनेट पाउनुपर्छ । सचिव गुरुङले टेलिकमको वाषिर्कोत्सब समारोहलाई सम्बोधन गर्दै उनले भने अब ५१२ केपिबिएसको स्पीड भन्दै २५६ स्पीडको इन्टरनेट दिनेले ग्राहकलाई क्षतिपूर्ति दिनुपर्छ ।

उनले यसका लागि नेपाल दूरसञ्चार प्राधिकरणले कार्यविधि बनाउन लागेको जानकारी दिए । कार्यबिधिमार्फत ग्राहकलाई भनेको जत्ति गुणसतरको सेवा नदिने इन्टरनेत तथा टेलिकम कम्पनीलाई ग्राहकलाई क्षतिपूर्ति दिन बाध्य पारिने उनले बताए ।
यसरी ठगी गर्ने कम्पनीले कति र कसरी क्षतिपूर्ति दिनेछन भन्ने टुंगो कार्यबिधिबाटै लाग्ने उनले बताए ।

यो ब्यबस्थाले टेलिकमलाई पनि समस्यमा पार्छ, किनभने यस्तो समस्या यहाँ पनि छ । अब टेलिकमले पनि ग्राहकलाई झुक्याउनु हुँदैन । बजारमा प्रतिस्पर्धाका लागि सरकारले लिएका यस्ता नीतिलाई चुनौति र अवसरका रुपमा सदुपयोग गरेर सेवाको गुणस्तर सुधार्न पर्ने उनले बताए ।