August 20, 2017

चुनाव नगरेर संसदको म्याद थप्ने खेलमा सरकार, तर त्यो हामी पुरा हुन दिदैनौ–योगेश भट्टराई

२२ माघ, काठमाण्डौ । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा प्रतिगमनको खेलमा लागेको आरोप लगाएका छन् ।

०७४ माघ ७ भित्र तीनवटै चुनाव गर्नुपर्ने लक्ष्मणरेखालाई बेवास्ता गर्दै दाहाल र देउवाले अर्काे प्रतिगमनको खेल खेलेको बताए । तोकिएको समय भित्र तीनै तहको चुनाव नगरेर संसदको म्याद थप्ने प्रतिगामी खेल लागेको आरोप लागाएका छन् । तर यहाँ नेकपा एमाले पार्टी छ, हामी त्यसलाई असफल बनाइछाड्छौं ।’

प्रेस चौतारी नेपालको १९ औं स्थापना दिवसलाई राजधानीमा शनिबार सम्बोधन गर्दै उनले भने संविधानले दिएको लक्ष्मणरेखा तोड्ने प्रयास भए समयमै त्यसको विकल्प खोज्ने बताए । ‘एमाले माघ ७ काट्न दिँदैन,’ उनले भने, दाहाल–देउवाले त्यसलाई काट्न चाहनुभयो भने एमालेले विकल्प खोज्छ ।’

भट्टराईले सरकारले स्थानीय चुनावको देखावटी प्रतिबद्धता जनाएको भन्दै असन्तुष्टि जनाए । ‘काल्पनिक मितिको अर्थ छैन,’ भट्टराईको भनाइ थियो, ‘एमाले चुनावको मिति चाहन्छ ।’ कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रधानमन्त्री एवं एमाले नेता माधवकुमार नेपालले पनि सरकार चुनावको तयारीमा नभएको जिकिर गरे । ‘को मान्छ, को मान्दैन भन्ने विषय होइन,’ उनले भने, ‘०७४ माघ ७ को लक्ष्मणरेखा काट्न मिल्दैन ।’

नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालले व्यक्ति र पार्टीपिच्छेका नेतालाई मनाउँदै हिंड्दा चुनाव विलम्ब हुँदै गएको उल्लेख गरे ।