काठमाण्डौ, ६ चैत्र । गृहमन्त्री रामबहादुर थापाले केन्द्रीय कारागारको संरचनालाई परिवर्तन गर्नुपर्ने बताएका छन् ।

काठमाण्डौको सुन्धारास्थित केन्द्रीय कारागार जगन्नाथ देवलको निरीक्षण गर्दे गृहमन्त्री थापाले कारागारको संरचनालाई समयानुकूल परिवर्तन गर्नुपर्ने बताएका हुन् । उनले बस्तीको बीचमा कारागार रहेको र क्षमताभन्दा बढी कैदी राख्नुपरेको भन्दै यसको स्थानानान्तरण अथवा संरचना परिवर्तन गर्ने भन्ने विषयमा छलफल चलाउने बताए ।

गृहमन्त्री थापालाई कारागार प्रशासनले यस कारागारमा क्षमताभन्दा दोब्बर कैदी भएको गुनासो गरेको छ भने गृहमन्त्रीले धुलिखेलमा निर्माणधीन कारागार छिट्टै सञ्चालनमा ल्याएर यस कारागारको भार कम गर्ने आश्वासन दिए ।

गृहमन्त्री थापाले बन्दीहरूको भेटघाटमा केहीले आफू निर्दोष भएको बताएकोे भन्दै गठबन्धनको सरकारले सबै निर्दोषलाई न्याय दिनेसमेत स्पष्ट पारे ।

केन्द्रीय कारागारका जेलर गणेश भट्टराईका अनुसार अहिले कम्तिमा ८ सय २१ कैदी र ७ सय ७३ थुनुवा गरी १ हजार ५ सय ९४ जना बन्दी केन्द्रीय कारागारमा छन् भने केन्द्रीय कारगार छेवैमा रहेको भद्रगोल कारागारमा ६ सय ६५ बन्दी छन् । त्यस्तै महिला कारागारमा १ सय ६७ कैदी र १ सय ७३ थुनुवा गरी जम्मा ३ सय ४० जना बन्दी रहेको कारागार प्रशासनले जानकारी दिएको छ ।