३६ वर्षपछि एसियाली स्क्वासमा नेपाल

गुञ्जनराज गिरी / काठमाण्डौ, ११ वैशाख । नेपालले ३६ वर्षपछि एसियाली स्क्वास च्याम्पियनसिपमा सहभागिता जनाउने भएको छ । अप्रिल २६ देखि ३० तारिखसम्म हुने च्याम्पियनसिपको १९ औं संस्करणमा दुई पुरुष खेलाडीले नेपालबाट सहभागिता जनाउने छन् ।

भारतको चेन्नइमा हुने प्रतियोगितामा अमृत थापा र अरहान्तकेशर सिंहले सिंगल्स स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । सातौं राष्ट्रिय खेलकुदको प्रदर्शनका आधारमा खेलाडी छनोट गरिएको नेपाल स्क्वास र्‍याकेट्स संघका महासचिव सुरेश गुरुङले जनाएका छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले सोमबार बिदाइ गरेका हुन् । भारतीय स्क्वास र्‍याकेट्स महासंघको आयोजनामा हुन लागेको प्रतियोगितामा सहभागी हुन टोली मंगलबार चेन्नई प्रस्थान गर्नेछ ।

१९८१ मा पाकिस्तानको कराँचीमा भएको प्रतियोगितामा नेपालबाट सन्जिव राजभण्डारी, अनिल सिंह र सत्य नारायणले सहभागिता जनाएका थिए । एसियाली स्क्वासमा ३६ वर्षपछि नेपालले प्रतियोगितामा सहभागिता जनाउन लागेको हो । एसियाली स्क्वास प्रतियोगितामा १७ राष्ट्रको सहभागिता रहने छ ।