May 25, 2017

२६ राजनीतिक दलले पाए पुरानै चुनाव चिन्ह

काठमाण्डौ, ६ चैत्र । बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा २६ राजनीतिक दलले पुरानै चुनाव चिन्ह पाउने भएका छन् ।

हाल व्यवस्थापिका संसदमा रहेका ३० दल रहे पनि २६ दलले मात्र स्थानीय तहको निर्वाचनामा भाग लिने भएका हुन् । जसमा संसदमा रहेका ३० दल मध्ये राप्रपा र राप्रपा नेपाल मिलेर राप्रपा बनेको छ भने मधेसी जनअधिकार फोरम नेपाल र संघीय समाजवादी पार्टी मिलेर संघीय समाजवादी फोरम नेपाल बनेको छ ।

त्यस्तै संसदमा एक सिट भएको विज्ञान तथा प्रविधि मन्त्री प्रेमबहादुर सिंहको समाजवादी जनता पार्टीलाई आयोगले खारेज गरिसकेको छ । नेपाः राष्ट्रिय पार्टी भने आयोगमा दर्ता नै नभएको आयोगले जनाएको छ ।

साथै यस अघि २६ दलले संविधानसभा २०७० को चुनावमा समानुपातिक तर्फ पाएको मतका आधारमा मतपत्रमा चुनाव चिह्नको क्रम निर्धारण गरिएको छ ।

यसअघि निर्वाचन आयोगमा दल दर्ता भएको क्रमअनुसार चुनाव चिह्नको क्रम निर्धारण गर्दथ्यो । यसबाट आयोगमा कुन दल पहिले दर्ता भएको भन्ने विवाद हुन्थ्यो ।
दोस्रो संविधानसभा निर्वाचनमा नेकपा एमाले र एमाओवादीबीच पहिले आयोगमा दल दर्ता गराएको भन्ने दाबीका कारण विवाद भएको थियो ।

यस अनुसार मतपत्रमा पहिलो नम्बरमा कांग्रेसको चुनाव चिह्न हुनेछ । दोस्रो नम्बरमा एमाले, तेस्रोमा माओवादी केन्द्र, चौथोमा राप्रपा र पाँचौं नम्बरमा संघीय समाजवादी फोरमको चुनाव चिह्न रहने भएको छ ।

स्थानीय तहको चुनावका लागि निर्वाचन आयोगले आइतबार साँझबाट मतपत्र छपाई सुरु गर्ने भएको । आयोगले डेढ करोढ बढी मतपत्र छाप्ने बताएको छ । काम पूरा गर्न करिब ४२ दिन लाग्ने आयोगले बताएको छ ।