October 20, 2017

२०६२/६३ को जनआन्दोलन सुरुवात भएको ऐतिहासिक दिन चैत्र २४ गते बाट नाटक आन्दोलन

काठमाण्डौ, २३ चैत्र ।  चैत्र २४ गते देखि ‘आन्दोलन’ सुरु हुने भएको छ । यो आन्दोलन पनि ६२/६३ को आन्दोलनजस्तै १९ दिनसम्म चल्नेछ ।

यो पटक ‘आन्दोलन’ सडकमा नभई काठमाण्डौ मल सुनधारास्थित नाटकघर थिएटर मलमा हुन लागेको हो । सौरभ कार्कीको योजनामा सुदाम सिकेले ‘आन्दोलन’ नेतृत्व गर्दैछन् ।

२०४६ तथा २०६२/६३ को जनआन्दोलन सुरुवात भएको विशेष र ऐतिहासिक दिन चैत्र २४ बाटै त्यस्तै झल्को दिने नाटक ‘आन्दोलन’को मञ्चन सुरु हुन लागेको हो । यस नाटक सौरभ कार्कीले लेखेका हुन् भने प्रतिवद्ध युवा रंगकर्मी सुदाम सिकेले निर्देशन गरेका हुन् ।

आन्दोलनकारी युवाहरुमा भने कलाकारहरु रियर राई, संयोग गुरागाईं, इ गिहोपो कोइँच सुनुवार, सिजन दाहाल, मिलन कार्की, बिनिता गुरुङ र सुदिप खतिवडा छन् । त्यस्तै नेपथ्यमा रहेर सघाउने आन्दोलनकारीहरुमा सुरेश कार्की, रामशरण रेग्मी, घनश्याम श्रेष्ठ, राजेन्द्र भट्ट, अमुल श्रेष्ठ, किरण चाम्लिङ, प्रेम शाक्य, सवनम चौधरी लगायत छन् ।

‘आन्दोलनका क्रममा नाटकघर बाहिर फोटो कलाकार दिपेन्द्र ब्रजाचार्यले ६२/६३ को आन्दोलनमा खिचेका तस्वीरहरु पनि प्रदर्शन गरिने थिएटर मल नाटकघरका कला निर्देशक केदार श्रेष्ठले जनाएका छन् ।

उनले थिएटर मलमा राजनीति र समाजसँग जोडिएका नाटकहरु धेरै मञ्चन भएपनि यो विशेष रहेको बताए । ६२/६३ कै आन्दोलन भोगेका, सहभागी भएकाहरु संलग यस नाटक सोही जनआन्दोलनको सम्झना र सम्मानमा मञ्चन गरिन लागेको हो ।

नाटक ‘आन्दोलन’ वैशाख ११ गतेसम्म हरेक साँझ ठिक ५ः३० बजे र शनिबार दिउँसो १ः३० बजे मञ्चन हुनेछ ।