१२१ जना मानव तस्करको पहिचान

काठमाण्डौ,७ वैशाख । नेपाली महिलालाई अवैध तरिकाले खाडी मुलुक पुर्याइ  घरेलु कामदारको रुपमा बेच्ने एक सय २१ भन्दा बढी तस्कर तथा एजेन्ट नेपालमा सक्रिय रहेको खुलेको छ ।

घर मालिकको यातना सहन नसकी भागेर खाडी मुलुकस्थित नेपाली दूतावास पुगेका महिलाले तस्करको पहिचान गरेका हुन । पहिचान खुलेका सबै नेपाली छन् । पीडित महिलाको बयानका आधारमा खाडी राष्ट्र कुवेत, साउदी अरब, युनाइटेड अरब इमिरेट्स (युएई) र ओमानस्थित नेपाली दूतावासले तस्कर तथा एजेन्टको नाम कारबाहीका लागि नेपाल पठाएका छन । परराष्ट्र मन्त्रालयले कारबाहीका लागि ती नाम श्रम मन्त्रालयमा पठाएको छ ।

गत महिना हामी युएईस्थित दूतावासले मात्र ४१ जना तस्करको नाम तथा ठेगाना पहिचान गरी कारबाहीका लागि पठाएका छौँ । युएईस्थित नेपाली दूतावास स्रोतले जानकारी दियो, हामीले पठाएका तस्करको नाम परराष्ट्रले कारबाहीका लागि श्रम मन्त्रालयमा त पठाउँछ, तर आजसम्म एक जनालाई पनि कारबाही भएको जानकारी पाएका छैनौँ ।

तस्करले नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भारतको विमानस्थलमार्फत खाडी राष्ट्रमा पुर्याएर घरेलु कामदारका रुपमा बेचिएका महिला नारकीय जीवन बिताउन बाध्य छन् । यो खबर आजको नागरिक दैनिकमा छ ।