October 24, 2017

१० पैसामै एक कप दूध चिया

काठमाण्डौ, १२ चैत्र । झिसमिसे उज्यालो । सडकछेउमै छ पुरानो एकतले घर । ५ नबज्दै घरक्क ढोका खुल्छ । हँसिला राम माली स्टोभ बाल्छन् ।स्टोभ बल्दानबल्दै आउन थाल्छन् ग्राहकहरू स्युँस्युँ गर्दै । उनी मस्किँदै चियाको तयारी गर्छन् । ग्राहक खुट्टा हल्लाउँदै रामसँग भलाकुसारी गर्न थाल्छन् । चिया पिउँदै ग्राहक भन्न थाल्छल ‘साह्रै मीठो दूधचिया अन्त त यस्तो हुँदैन ।’ ग्राहको प्रतिक्रिया सुनेर राम माली मस्किन्छन् ।

यसै बेला एक ग्राहक बेन्चबाट जुरुक्क उठेर पर्स झिक्दै प्रश्न गर्छन् चियाको कति हो साहुजी ? ६ रुपैयाँ मात्र । राम मालीको अनुहारमा मोनालिसाको मुस्कान समाहित भएको भान हुन्छ ।

ग्राहक छक्क पर्छन् । उनको मनमा ‘होइन होला’ भन्ने शब्द नाचेझैं लाग्छ, अरूलाई पनि । १० रुपैयाँ राम मालीतिर तेर्स्याउदै ग्राहकले प्रतिक्रिया दिन्छन्, ‘कति सस्तो, कति मीठो अब सधैं यहीँ आउनुपर्ला जस्तो छ । ‘हवस हजुर राम माली २ रुपैयाँका दुईवटा सिक्का ग्राहकलाई फिर्ता दिन्छन् ।


यो कुनै चिया पसलको विज्ञापनका लागि लेखिएको स्क्रिप्ट होइन र यो कुनै साहित्यिक कृतिको अंश पनि होइन । यो त ललितपुर जिल्लाको बज्रवाराही–६, ठेंचोस्थित राम मालीको चिया पसलको दृश्य हो ।

फर्केर हेर्दा

राम मालीका बुबा बाबुलाल मालीले २०१९ सालमा स्थापना गरेका हुन् यो चिया पसल । त्यतिखेर बाबुलालले १० पैसामा एक कप दूधचिया बेच्थे । ग्राहकको घुइँचो लाग्थ्यो, कमिलाको ताँती झैं । उनले चिया पसललाई व्यवस्थित बनाउँदै लगे । आफ्नो छोरो रामलाई पनि व्यवसायमा संलग्न गराए । छोराले राम्रोसँग काम सिकेकामा बाबुलाल खुब मक्ख भए ।

बाबुलालको देहान्तपछि राम मालीले २०३६ सालबाट यस चिया पसललाई निरन्तरता दिए । चिया पसलको साटो अरू व्यवसाय गरेको भए हुन्थ्यो नि भन्ने प्रश्नको जवाफमा

राम भन्छन्, ‘पितापुर्खाको पेसालाई सम्मान गर्नुपर्छ, त्यसैले मैले अरू व्यवसायमा हात हालिनँ । आफ्नो व्यवसायलाई व्यवस्थित बनाउन सके चिया पसलबाटै पनि मनग्गे आम्दानी गर्न सकिन्छ ।’

बर्सेनि मूल्यवृद्धि भइरहेको छ, तपाईंले कसरी चियाको मूल्यवृद्धि गर्नुभएको छ भन्ने प्रश्नको जवाफ उनी यसरी दिन्छन्, ‘१९ सालमा एक कप दूधचियाको मूल्य १० पैसा थियो रे । मैले चाहिँ २०३६ सालबाट सुरु गरेको हुँ । त्यतिखेर म ३५ पैसामा एक कप दूधचिया बेच्थें ।

चिनी, दूध र चियापत्तीको मूल्यवृद्धि भएसँगै एक कप दूधचियाको मूल्य ३५ पैसाबाट १ मोहोर, १ मोहोरबाट ३ सुका, ३ सुकाबाट १ रुपैयाँ, १ रुपैयाँबाट ३ मोहोर, ३ मोहोरबाट २ रुपैयाँ, २ बाट ३ रुपैयाँ, ३ बाट ४ रुपैयाँ, ४ बाट ५ रुपैयाँ र ५ बाट ६ रुपैयाँ पुर्याएको छु । २०७१ सालदेखि आजका दिनसम्म ६ रुपैयाँमा एक कप दूधचिया बेच्दै छु ।

कार्यालयको झल्को

राम मालीले चिया पसललाई व्यवस्थित रूपमा सञ्चालन गरेका छन् । कायर्नलय खुल्ने समय झैं चिया पसल खुल्ने र बन्द हुने समय तोकेका छन् । बिहान ५ बजे चिया पसल खुल्छ र साँझ ७ बजे बन्द हुन्छ । बिहान ९ः३० देखि १ बजेसम्म चिया पसल बन्द रहन्छ । जाडोयाममा ५ सय कपभन्दा बढी र गर्मी मौसममा ४ सय कप जति बिक्री हुने गरेको राम माली बताउँछन् ।

चियाका ग्राहकका रूपमा बालबालिका, युवा, प्रौढ र वृद्धवृद्धासमेत रहेको जानकारी दिए । राम मालीका २ छोरी र १ छोरा छन् । उनले यही पेसाबाट पाँचजनाको परिवारको पालनपोषण गरेका छन् । चिया पसलकै माध्यमबाट उनले आफ्नो आर्थिक अवस्थासमेत उकासेका छन् ।

समाजसेवा आफ्नै थाकथलोमा

इमानदारिताका साथ आपूmलाई मन पर्ने व्यवसाय सञ्चालन गर्ने हो भने व्यावसायिक सफलता प्राप्त गर्न सकिने बताउँदै उनले जंकु गरेका वृद्धवृद्धालाई आजीवन ५ रुपैयाँमा एक कप चिया बिक्री गरेको जानकारी दिए ।

साथै उनले दीनदुःखीलाई निःशुल्क चिया खुवाउँदै आएका छन् । व्यावसायिक सफलताका लागि त्याग, तपस्या, इमानदारिता रधैर्यको खाँचो हुन्छ,’ राम माली भन्छन् ।

आफ्नो व्यवसायमा इमानदारिताका साथ कटिबद्ध भएर ग्राहकको धित मर्ने खालका गुणस्तरीय सामग्री बेचबिखन तथा सेवा प्रदान गर्न सके सानातिना व्यवसायबाटै घरपरिवारको भरपोषण गर्दै समाजसेवामा समेत संलग्न हुन सकिने उत्प्रेरणा राम मालीले दिएका छन् । यो खबर आजको राजधनी दैनिकमा छ ।