August 17, 2017

१० अर्बको चक्रपथ योजना ७ वर्ष देखि अलपत्र

पाण्डव शर्मा

दाङ, २१ चैत्र । साविकको घोराही नगरपालिका क्षेत्रलाई समेट्ने गरी प्रस्ताव गरिएको घोराही चक्रपथ योजना सात वर्ष वितिसक्दा समेत कुनै प्रगति हुन सकेको छैन । १३ औं नगरपरिषद्ले नीतिगतरुपमा सबै वडालाई समेट्ने गरी चक्रपथ योजना अघि सारेको थियो ।

तत्कालिन समयमा चक्रपथ निर्माण गर्न कुल १० अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको थियो । सात वर्ष बितिसक्दा समेत हालसम्म चक्रपथ निर्माणमा कुन प्रक्रिया अवलम्बन गर्ने भन्ने निधो भइसकेको छैन । नगरपालिकाले तीन वर्ष अघि चक्रपथको ट्रयाक खोल्न सुरु गरेको थियो । तर, ५ सय मिटर ट्रयाक खोली नसक्दै स्थानीय उपभोक्ताले अदालतमा मुद्दा दायर गरेपछि काम रोकिएको छ ।

अदालतले ५१ प्रतिशत उपभोक्ताहरुको सहमति खोजेको छ, तर हालसम्म उपभोक्ताहरुको सहमति जुट्न सकेको छैन । अहिले नगरपालिकाको क्षेत्र विस्तार भएर उपमहानगरपालिका भइसकेको छ ।

घोराही उपमहानगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद सापकोटाले चक्रपथ निर्माणका लागि अर्थ मन्त्रालयले बजेट विनियोजन गर्ने आश्वासन दिए पनि उपभोक्ताहरुबीच सहमति नजुटेकाले काम गर्न नसकिएको बताए ।

उनले नगरपालिका उपमहानगरपालिकामा रुपान्तरण भएर नयाँ क्षेत्र थपिए पनि चक्रपथ योजना भने निरन्तर अघि बढाइने जानकारी दिए । यो चक्रपथलाई उपमहानगरपालिकाको भित्रि चक्रपथको रुपमा विकास गरिने सापकोटाले बताए ।