August 21, 2017

हिरासतमै डा. बाबुराम भट्टराई लगायतका नेताहरु माथि दुर्व्यवहार

काठमाडौं, २० चैत– दलिय चुनाव चिन्हको माग गर्दै निर्वाचन आयोगमा धर्ना दिने क्रममा आइतबार बिहान प्रहरीले पक्राउ गरेका नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईलगायतका नेताहरुलाई  हिरासतमा दुर्व्यवहार भएको छ ।

बिहान प्रहरीले पक्राउ गरेका उहाँहरुलाई रिहा हुन दवाव दिएपनि अस्विकार गरेपछि प्रहरीले हिरासतभित्रै दुर्व्यवहार गरेको नयाँ शक्तिका नेता अरुणा रायमाझीले बताइन । प्रहरी हिरासतमै नाराबाजी गर्नेक्रममा प्रहरीले डा. बाबुराम भट्टराई सहितका नेताहरुलाई बल प्रयोग गरी हिरासतबाट बाहिर पठाउन खोज्दा भएको धरपकडका क्रममा १३ नेताहरु घाइते भएको नयाँ शक्तिले  जनाएको छ।
प्रहरीको दुर्व्यवहार पछि प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लब अगाडी अहिले नयाँ शक्तिका कार्यकर्ताहरु हिरासतमा नेताहरु माथि भएको प्रहरी दुर्व्यवहारको विरोधमा नाराबाजी गरिरहेका छन् ।
पक्राउ परेका नेताहरुले निर्वाचन चिन्हसहित चुनाव लड्न पाउनु पर्ने आफ्नो माग पूरा नभएसम्म रिहा नहुने भन्दै हिरासतभित्रै धर्ना समेत दिइरहेका छन ।

यसै गरी नयाँ शक्ति पार्टी नेपालले  विज्ञप्ती जारी गर्दै शान्तिपूर्णरुपमा गरिएको धर्नामा प्रहरीले हस्तक्षेप गरेकोमा विरोध जनाएको छ । नयाँ शक्तिका प्रवक्ता खिमलाल देवकोटाद्वारा जारी विज्ञप्तीमा नेपालको संविधानको धारा २६९ (७०)(७१) मा भएको दलहरुले दलीय पहिचानको आधारमा चुनाव चिन्ह पाउनुपर्ने प्रावधानविपरित स्थानीय तह निर्वाचन ऐन २०७३ ले नयाँ दलहरुलाई दलीय चुनाव चिन्हबाट वञ्चित गरेको छ  आपत्ती व्यक्त गरिएको छ ।

‘शान्तिपूर्ण धर्ना कार्यक्रम गर्दा पनि सामान्य मानव अधिकार र लोकतान्त्रिक अधिकारको बर्खिलाप हुनेगरी गरिएको दमन र गिरफ्तारको घटनाप्रति नयाँ शक्ति पार्टी, नेपाल घोर भर्त्सना गर्दछ’  विज्ञप्तीमा भनिएको छ ।