October 19, 2017

हिन्दू धर्म र संवैधानिक राजसंस्थाका लागि राप्रपाद्वारा राजविराजमा प्रदर्शन

दिनेश शर्मा /राजविराज, ०५ वैशाख । पार्टीको विधानबाट हिन्दू धर्म र संवैधानिक राजसंस्था शब्द हटाउने निर्वाचन आयोगको निर्णय विरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार राजविराजमा प्रदर्शन गरेको छ ।

केन्द्रिय सदस्य रेणु साह, जिल्ला अध्यक्ष उम्देश्वर साह, वरिष्ठ उपाध्यक्ष आकाश यादव लगायतका नेता कार्यकर्ताले राजविराजका विभिन्न क्षेत्रको परिक्रममा गर्दै आयोगको निर्णय त्रुटिपुर्ण भएकाले त्यसलाई सच्याउन माग गरे । निर्वाचन आयोगको निर्णय खारेज गर, हिन्दु राष्ट्र कायम गर लगायतका नारा सहित पार्टी स्थानीय धर्मशालाबाट निस्केको मसाल जुलुसले नगरका विभिन्न भगको परिक्रमा गरेको थियो ।

राप्रपा हिन्दू राष्ट्र र राजसंस्था सहितको लोकतान्त्रिक पार्टी भएकोले यस विषयमा निर्वाचन आयोगले गरेको निर्णय नसच्याइए अझ सशक्त आन्दोलन गर्ने पार्टीका वरिष्ठ उपाध्यक्ष यादवले चेतावनी दिएका छन् ।

आयोगको निर्णय विरुद्ध पार्टीले यसअघि पनि निर्वाचन कार्यालय घेराउ, कोणसभा, र्‍याली लगायतका विरोधका कार्यक्रमहरु गर्दै आएको छ ।