October 19, 2017

‘हर्न निषेध’ अभियान प्रभावकारी रुपमा देखिँदै

काठमाण्डौ, १ वैशाख । ध्वनि प्रदूषण कम गर्ने उद्देश्यले काठमाण्डौ महानगरपालिकाले सुरु गरेको ‘हर्न निषेध’ अभियान प्रभावकारी देखिएको छ ।

राजधानीका सडकमा चल्ने सानाठूला सबै प्रकारका सवारीसाधनले निकै कम हर्न बजाए पनि अधिकांशले हर्न बजाउन नहुने जानकारी पाएका थिए । महानगरले चोक र आकाशेपुलमा अनावश्यक ध्वनिले मानव स्वास्थ्यमा हानि पुर्‍याउने चेतनामूलक जानकारी राखेकाले पनि केही सुधार आएको हुन सक्ने सार्वसाधारणको भनाइ छ ।

कुनै/कुनै सवारीसाधनले अन्जानमा हर्न बजाए पनि ट्राफिक प्रहरीले सामान्य सोधपुछ गरेर मात्र छोडेका थिए । काठमाण्डौको कोलाहलपूर्ण वातावरणमा सुधार आउने सर्वसाधारणको विश्वास  रहेकाे ट्राफिक प्रहरीको भनाइ छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता लोकेन्द्रबहादुर मल्लले ‘हर्न निषेध’ भन्दा पनि ध्वनि प्रदूषण कम गर्ने अभियानमा सकारात्मक प्रभाव परेको बताए । काठमाण्डौ उपत्यकामा दैनिक सातदेखि आठ लाख सवारीसाधन गुड्छन् ।

यी सवारीसाधनले अनावश्यक रुपमा उत्पन्न गर्ने ध्वनिका कारण मानव स्वास्थ्यमा गम्भीर असर पार्ने गरेको बुझिएको छ । काठमाण्डौ महानगरपालिकाले ध्वनि प्रदूषण कम गर्ने उद्देश्यले यस अभियानलाई आजदेखि लागू गरेको हो ।