
काठमाण्डौ, ८ चैत्र । बर्दियाको भुरीगाउँमा एक महिलाले राजमार्गमा भेट्टाएको १७ हजार रुपैयाँको तयारी चेक सम्बन्धित व्यक्तिलाई फिर्ता दिएकी छिन् ।
पुर्व पश्चिम राजमार्ग अन्तरगत भुरीगाउँ बजारको मुख्य चोकमा भेट्टाएको कलमबहादुर शाहीको नामको १७ हजारको तयारी चेक ठाकुरबाबा नगरपालिका नेउलापुर की भवानी योगी ले फिर्ता गरेकी हुन् ।
राष्टिय बाणिज्य बैँक भुरीगाउँ शाखाको फेला परेको चेक मंगलबार बिहान रेडियो टाइगर एफ एमबाट सुचना प्रसारण गरिएको थियो ।
फेला परेको उक्त तयारी चेक रेडियोको कार्यालयबाट सम्बन्धित व्यक्ति कलमबहादुर शाहीलाई हस्तान्तरण गरिएको हो ।
तयारी अवस्थाको चेक थियो, चाहेको भए तुरुन्तै साटेर लग्न सक्नु हुन्थ्यो तर इमान्दारीपुर्वक फिर्ता गर्ने महिलाको प्रशंसा गर्दै शिक्षक कलमबहादुर शाहीले उनलाई धन्यवाद व्यक्त गरे ।
‘चेक हराएको खबर पाएपछि विद्यालयबाट हतार हतार बैँकमा चेक हराएको निवेदन दिँदै थिँए, राष्ट्रिय वाणिज्य बैँकका प्रबन्धक नारायण बलायरले तपाईँको चेक रेडियो टाइगरमा छ भनेपछी चेक पाएँ ।’ शाहीले भने ।
कसैको दुःखले कमाएको पैसा किन लिनु भन्दै इमान्दारीपूर्वक फिर्ता गरेको महिला योगीको भनाई छ ।
घरबाट विद्यालय जानै लाग्दा आफन्तलाई चेक साट्न पठाएका बेला भुरीगाउँ बजारमै चेक हराएको थियो ।