October 18, 2017

हत्यामा संलग्न ५ जना प्रहरीद्वारा सार्वजनिक

दिनेश शर्मा
राजविराज, २१ चैत्र । सप्तरीको मलहनवा–१ का १६ बर्षीय श्रवणकुमार साहको हत्यामा संलग्न भएको आरोपमा सिरहा प्रहरीले एक महिला सहित पाँच जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका–५ बस्ने ३३ वर्षीया रञ्जु कुमारी मण्डल, लहान नगरपालिका– ३ बस्ने ४० वर्षीय वसन्त साह, सिरहाको फूलकहाकट्टी–९ घर भई हाल लहान नगरपालिका ३ बस्ने १८ वर्षीय भोलाजित नेपाल सिंह, लहान– ८ बस्ने १८ वर्षीय दीपक शर्मा र लहान–३ बस्ने १७ वर्षीय मिस्टर राईन छन् ।

प्रहरीका अनुसार युवकको हत्या गरी उनीहरु फरार रहेका थिए । जिल्लाका विभिन्न स्थानबाट चैत्र १९ गते सबैलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

उनीहरुमाथि कर्तव्य ज्यान अन्तर्गत मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरी बताएको छ । चैत्र १५ गते सिरहाको लहान नगरपालिका–३ स्थित आँप बगैँचामा झुण्डिएको अवस्थामा श्रवणको शव फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । उनी एसईई परीक्षा दिन डेरामा बसेका थिए ।