August 19, 2017

स्वास्थ्य सेवामा अवरोध नगर्न स्वास्थ्यकर्मीलाई मन्त्री थापाको आग्रह

काठमाण्डौ, २० फाल्गुन । स्वास्थ्यमन्त्री गगन थापाले स्वास्थ्य सेवाहरु निर्वाध रुपले संचालन गर्न स्वास्थ्यकर्मीहरुलाई आह्वान गरेका छन् ।

थापाले शुक्रबार विज्ञप्ति जारी गर्दै मन्त्रालय अन्तर्गत कार्यरत स्वास्थ्यकर्मीहरुबाट स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ९ ख को विशेष पदस्थापनाको विषयमा रहेको असमझदारीलाई लिएर स्वास्थ्य संस्थाहरुमा भएको तालाबन्दीका सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको बताए ।

बर्षौदेखि ऐनको उक्त दफा कार्यान्वयन नभईरहेको बेला आफु स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेपछि ऐनको उक्त दफा स्वास्थ्यकर्मीहरुको वृद्धि विकासमा बाधकको रुपमा रहेको महशुस गरी समस्या समाधानका लागि आफुले विभिन्न कार्यहरु गरेको बताए ।

उनले ऐन कार्यान्वयनका लागि दरबन्दी सिर्जना गर्ने प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको र ऐनको दफा ९ ख बमोजिम स्तर वृद्धि भएका स्वास्थ्यकर्मीहरुको दीर्घकालीन समस्या समाधानका लागि ऐन संशोधन गर्ने सैद्धान्तिक सहमति मन्त्रिपरिषद्बाट प्राप्त भई ऐन संशोधन मस्यौदा समितिलाई कार्य जिम्मेवारी समेत दिइसकिएको जानकारी गराए ।

३ महिना भित्र संशोधित ऐनको मस्यौदा व्यवस्थापिका संसदमा पेश गरी सम्पूर्ण समस्याको समाधान गर्न मन्त्रालय प्रतिबद्ध रहेको मन्त्री थापाले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

मन्त्री थापाले मन्त्रालयबाट भएका यी कार्यहरुलाई स्वागत गरी सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई आ–आफ्नो काममा फर्कन आग्रह गरेका छन् ।

उनले फाल्गुन २१ र २२ गते खुवाईने पोलियो खोपलाई प्रभावित गर्ने, खोपका सरसामानहरु ओसारपसार गर्ने सवारी साधनहरुलाई अवरोध गर्ने जस्ता अराजक क्रियाकलापहरु भइरहेको सुन्दा आफु अचम्मित भएको बताएका छन् ।