October 18, 2017

स्वास्थ्य शिविरमा २ हजार बढीले सेवा पाए

रौतहट, १० चैत । रौतहटको गौरमा भईरहेको बृहत स्वास्थ्य शिविरमा दुई दिनमा २ हजार बढी भन्दा बढीलाई निःशुल्क स्वास्थ्य परिक्षण, शल्यक्रिया र औषधी वितरण गरिएको छ ।

स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको सहकार्यमा भएको शिविरको पहिलो दिन मंगलबार ९ सय १२ र दोस्रो दिन बुधबार १३ सय ३५ जानले निःशुल्क स्वास्थ्य परिक्षण गरिएको नेपाली सेनाका कर्नेल दीपक अधिकारीले जनाएका छन् । उनले पहिलो दिन ९ जनाको र दोस्रो दिन २६ जनाको निःशुल्क शल्यक्रिया समेत भएको बताएका छन् ।

शिविरमा पाठेघर, हाइडोशील, हर्निया, पत्थरी, फेस्टुला, बासिर, भगन्दर लगायत करिव एक दर्जन रोगहरुको निःशुल्क शल्यक्रिया मार्फत् उपचार पनि भईरहेको बताए ।

उनका अनुसार स्वास्थ्य मन्त्रालय र नेपाली सेनाका गरी ३० जना चिकित्सक सहित एक सय भन्दा बढी स्वास्थ्यकर्मीहरु शिविरका लागि खटिएका छन् ।

स्वास्थ्य शिविरमा मोवाइल हस्पीटल मार्फत् ५० बेड क्षमताको अस्पतालले दिने सुविधा दिइएको छ भने विभिन्न सरकारी अस्पतालका श्रोतसाधनहरुको पनि प्रयोग गरिएको छ ।

शिविर गौरस्थित जिल्ला अस्पताल र नेपाली सेनाको व्यारेक मैदानमा भईरहेको छ । शिविर निरिक्षणका लागि बिहीबार नेपाली सेनाका प्रमुख राजेन्द्र क्षेत्री आउने रहेको छ भने शुक्रबार स्वास्थ्य मन्त्री गगन कुमार थापा आउने कार्यक्रम रहेका छ ।