October 18, 2017

‘स्वास्थ्य निर्देशिका २०७३’ ले सिएमए को पेशा अन्योलमा

खग प्रसाद चापागाईँ
कपिलवस्तु, २ वैशाख । नेपाल सरकारले जारी गरेको स्वास्थ्य सेवा ऐन २०७० को स्वास्थ्य निर्देशिका २०७३ मा गरिएको क्लिनिक सम्बन्धी व्यवस्थाले मुलकभरका सिएमए (सिनिअर अहेब) हरुको पेशा अन्योलमा परेको छ ।

नेपाल सिएमए संघ कपिलवस्तुको तौलिहवामा सम्पन्न जिल्ला भेलामा सहभागी सिएमएहरुले मुलकको ग्रामिण क्षेत्रमा गई ८० प्रतिशत सिएमएहरुले स्वास्थ्य सेवा प्रदान गर्दै आएको अवस्थामा हाल सिएमहरु मर्कामा पार्ने गरी ऐन विपरीत सरकारले निर्देशिका जारी गरेको आरोप लगाएका छन् ।

विगतमा नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले तोकेको आचारसंहिताको अधिनमा रहि चेकजाँच र आचारसंहिता अनुरुपका औषधी दिन पाउने व्यवस्था रहे पनि हालको निर्देशिकाले चेकजाँच गर्न पाउने अधिकारबाट समेत वन्चित गरेको सिएमए संघका जिल्ला अध्यक्ष पुनित कुमार मिश्राले बताए ।

नेपालभर कुल ८८ हजार स्वास्थ्यकर्मीको संख्या रहेकोमा ५५ हजार सिएमएहरु रहेका छन् । जसमध्ये १२ हजार २ सय सिएमएले संघको सिफरिसमा दर्ता भै क्लिनिक सञ्चालन गर्दै आएको जनाइएको छ ।

नेपालले विगतमा सहश्राब्दी विकास लक्ष्य अनुरुप बाल र मातृ मृत्युदर घटाउने कार्यमा पाएको उदारणीय उपलब्धीको श्रेय सिएमएको भए पनि सिएमएहरुलाई पेशाबाट वीञ्चत हुने गरी स्वास्थ्य मन्त्रालयद्वारा निर्देशिका जारी गरिनु दुःखद् भएको कार्यक्रमका सहभागीहरुले बताएका थिए ।

कार्यक्रममा संघका केन्द्रिय सदस्य लालबहादुर खड्का, केन्द्रिय सल्लाहकारहरु कलदिप ठाकुर र दुर्गा प्रसाद अधिकारी तथा रुपन्देही अध्यक्ष गोपाल प्रसाद उपाध्यायको सहभागिता रहेको थियो ।