स्ववियु निर्वाचका लागि चाहिने सम्पूर्ण सुरक्षा व्यवस्था सरकारले गर्ने

काठमाण्डौ ४ फाल्गुन । यहि फाल्गुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि चाहिने सम्पूर्ण सुरक्षा व्यवस्था सरकारले मिलाउने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायत त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र विद्यार्थी नेताहरुबीच बुधबार बालुवाटारमा भएको छलफलमा स्ववियु निर्वाचन गर्न चाहिने सम्पूर्ण सुरक्षाको व्यवस्था सरकारले मिलाउने निर्णय भएको छ ।

निर्वाचन गराउन नसक्ने क्याम्पस प्रमुखहरुसँग छलफल गरी सरकारले सुरक्षाको प्रत्याभूति दिलाउन प्रतिबद्धता प्रधानमन्त्री दाहालले गरेका छन् । बैठकले सुरक्षाको कुनै चिन्ता नलिई निर्वाचन कार्यक्रमलाई अघि बढाउन सम्बन्धित क्याम्पसहरुलाई निर्देशन दिएको बैठकमा सहभागी एमाले नेता रविन्द्र अधिकारीले बताएका छन् ।

बैठकले निधारित मितिमै स्ववियु चुनाव सम्पन्न गराउने निर्णय गरेको छ ।