October 23, 2017

स्थाानीय निकायको निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी हुने काँग्रेस महामन्त्रीकाे दाबी

नेपालगञ्ज, २४ चैत्र । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले स्थानीय निकायको निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी हुने दाबी गरेका छन् ।

नेपालगञ्जमा नेपाली कांग्रेस बाँकेको जिल्ला सम्मेलनको उद्घाटन गर्दै कोइरालाले जनताको विश्वास र आस्थाको केन्द्र नेपाली कांग्रेस भएकोले जसरी संविधान सभाको चुनावमा पहिलो स्थानमा जनताले उभ्याए त्यसरी नै स्थानीय तहको निर्वाचनमा पनि प्रथम हुने दाबी गरेका हुन् ।

उनले अन्य दलका पार्टीले आफ्नो सस्तो लोकप्रियताका लागि वृद्धभत्ता वृद्धि र राष्ट्रियताको नारा लगाए पनि नेपाली कांग्रेसले गरेका कार्यको प्रचार नगरे पनि जनताहरुले मूल्याङ्कन गरिरहेको बताए ।

महामन्त्री कोइरालालले नेपालले जति पनि विकासमा फड्को मारेको छ ति सबै नेपाली कांग्रेसको सत्तामा भएको बेलामा सम्भव भएको भनेर जस थाप्न पनि भ्याए ।

‘जनमनमा विपि, घरघरमा कांग्रेस, सङ्गठन सृदृढिकरणमा हाम्रो संकल्प अभियान’ भन्ने नारासहित जिल्ला सम्मेलनमा बोल्ने अधिकांश वक्ताले कांग्रेस पार्टीलाई सबै ठाँउमा जिताउनका लागि सबै नेता तथा कार्यकर्ता एकजुट हुनुपर्ने भनाइ राखेका थिए ।

सम्मेलनमा सांसदहरु, पूर्व सांसद, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय सभापतिहरु, लगायत सम्पूर्ण नगर, वडा, भातृसंङ्गठनका करिब ६ सय भन्दा बढीको सहभागिता रहेको थियो ।