August 19, 2017

स्थानीय निर्वाचनका लागि सरकार तयार रहेको गृहमन्त्री निधिको भनाई

काठमाण्डौ, ६ वैशाख । गृहमन्त्री बिमलेन्द्र निधिले आसन्न स्थानीय तह निर्वाचन सुरक्षाका लागि सरकार तयार रहेको बताएका छन् ।

प्रधानमन्त्रीले आह्वान गरेको प्रमुख पाँच दलको बैठकबाट बाहिरिने क्रममा मन्त्री निधिले सुरक्षा प्रदान गर्न सरकार तयार रहेको जानकारी दिएका हुन् । उनले आफ्नै नेतृत्वमा केन्द्रीय सुरक्षा समन्वय समिति गठन भइसकेको पनि जानकारी दिँदै निर्वाचनमा सेनाले समेत सुरक्षा प्रदान गर्ने उल्लेख गरे ।

यसअघि चुनावी सुरक्षा प्रर्याप्त नभएको भन्दै मध्यरातमा ट्विट किन भन्ने सञ्चारकर्मीको प्रश्नमा मन्त्री निधिले ट्विट लेख्नका लागि कुनै खास समय नभएको बताए । सुरक्षा प्रबन्धको सट्टा अनावश्यक टिप्पणी भन्दै निधिको आलोचना भएको थियो ।

आलोचनापछि निधिले निर्वाचन तयारीका लागि सुरक्षा प्रबन्ध मात्र मुख्य नभई राजनीतिक सहभागिता र समाधान पनि आवश्यक रहने भन्दै दोस्रो ट्विट गरेका थिए ।

पाँच दलको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी प्रस्तावका रुपमा नभई व्यक्तिगत रुपमा दुई चरणमा निर्वाचनको प्रस्ताव गरेको पनि निधिले बताए ।