May 25, 2017

स्थानीय निर्वाचनका लागि मतपत्र छाप्ने काम आजदेखि सुरु

काठमाण्डौ ६ चैत्र । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आजदेखि मतपत्र छाप्ने काम सुरु गरेको छ ।

आयोगले आगामी वैशाख ३१ गते हुने निर्वाचनका लागि आजदेखि मतमत्र छपाइ सुरु गर्न लागेको हो ।

आयोगका पदाधिकारीहरुले नमूना मतपत्रको अवलोकन गरिसकेकाले आजबाट औपचारिक रुपमा नै मतपत्र छाप्ने काम सुरु हुन लागेको हो । आज साँझबाट मतपत्र छपाइ सुरु हुने आयोगले जनाएको छ ।

मतपत्र छपाइको सुरक्षाका लागि नेपाली सेनालाई जिम्मा दिइएको छ । मतपत्र भक्तपुर सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रको प्रेसमा छापिनेछ ।

आयोगले करिब एक करोड ४० लाख मतदाता हुने अनुमान गरी करिब एक करोड ६० लाख मतपत्र छाप्न लागेको हो ।

मतपत्र छापिसक्न कम्तिमा ४२ दिन लाग्ने अनुमान गरिएको छ । आयोगले ६ आकारमा ७५ जिल्लाका लागि ७५ वटै प्रकारका मतपत्र छाप्ने तयारी गरेको छ । आयोगका अनुसार काठमाडौ जिल्लामा सबैभन्दा बढी ४७ र मनाङमा सबैभन्दा कम ६ दल दर्ता भएका छन् । जिल्लामा दर्ता नभएका दलले स्वतन्त्र उम्मेदवारका रूपमा उम्मेदवारी दिन सक्नेछन् । आयोगमा एक सय १३ राजनीतिक दल दर्ता भएका छन् ।