स्थानीय निकायको निर्वाचन गराउन सरकारले खुट्टा कमाउन हुँदैनः केपी ओली

काठमाण्डौ, ६ चैत्र । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तोकिएको मितिमा स्थानीय निकायको निर्वाचन गराउन सरकारले खुट्टा कमाउन नहुने बताएका छन् ।

एमाले बाँके प्रचार विभागद्वारा आईतबार नेपालगंजमा आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचन रोक्ने अलोकतान्त्रिक चरित्र सरकारले प्रस्तुत गर्न नहुने धारणा राखे ।

निर्वाचनका लागि सरकार दरो भएर प्रस्तुत हुनुपर्ने भन्दै सरकार लुलो र फितलो भएर प्रस्तुत भयो भने निर्वाचन नचाहनेलाई त्यसले फाइदा पुग्ने बताए ।

ओलीले संविधानले कसैलाई भेदभाव नगरेको बताउँदै तराईका जनतालाई संविधानको विरुद्ध अल्मल्याइएको दाबी गरे ।

अध्यक्ष ओलीले आफ्नो दलको अहिले एउटै मूल उद्देश्य निर्वाचन भएकाले त्यसअघि सत्ता हेरफेर प्रयासमा नलाग्ने स्पष्ट पारे ।

त्यस्तै पत्रकार सम्मेलनमा महासचिव ईश्वर पोखरेलले कुनै पनि अवस्थामा आफ्नो दल संविधान संशोधनको पक्षमा नजाने अडान दोहर्‍याए ।