August 18, 2017

स्थानीय तहको निर्वाचन स्वतन्त्र र शान्तिपूर्ण हुनुपर्छ

काठमाण्डौ, १६ फाल्गुन । स्थानीय तहको निर्वाचन स्वतन्त्र र शान्तिपूर्ण हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

सोमबार काठमाडौमा आयोजित राज्य पुनर्संरचना र स्थानीय तहको निर्वाचन विषयक अन्तक्र्रिया कार्यक्रममा सरोकारवालकाहरुले निर्वाचनलाई चुनौतिको भन्दा पनि अवसरका रुपमा लिएर धाँधलीरहीत बनाउनुपर्नेमा जोड दिएका हुन् ।

निर्वाचन सम्पन्न गर्न राजनीतिक दल, नागरिक समाज र बुद्धिजिवीको भूमिका महत्वपूर्ण हुने भन्दै उनीहरुले निर्वाचनका माध्यमबाट लोकतन्त्रको अभ्यासको बाटो खुल्ने बताए । पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ, निलकण्ठ उप्रेतीलगायतले निर्वाचनको विकल्प नभएकाले स्थानीय निर्वाचनको सैद्धान्तिक पक्षका बारेमा ध्यानाकर्षण गराएका थिए ।

नेपाली कांग्रेसका नेता डाक्टर रामशरण महत, एमालेका अग्नी खरेल, माओवादी केन्द्रका नेता पम्फा भुषाल लगायतले स्थानीय तहको निर्वाचनका कानुन बनिसकेकाले निर्वाचन हुनेमा शंका नगर्न आग्रह गरेका छन् ।

निर्वाचनको माध्यमबाट लोकतन्त्र र गणतन्त्र संस्थागत हुने भएकाले सबैलाई निर्वाचनमा जुट्न उनीहरुले आग्रह गरेका छन् ।