August 17, 2017

स्थानीय तहको निर्वाचन दुई चरणमा हुने

काठमाण्डौ, १० वैशाख । आईतबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले दुई चरणमा स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको छ ।

पहिलो चरणमा प्रदेश नम्बर ३, ४ र ६ मा वैशाख ३१ गते चुनाव गर्ने निर्णय गरेको हो । दोश्रो चरणमा भने जेठ ३१ गते प्रदेश नम्बर १, २, ५ र ७ मा चुनाव हुने सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले जानकारी दिए । बैठकले पहिलो चरणको चुनावको उम्मेदवारी दर्ताको मिति केही दिन पर सार्न निर्वाचन आयोगसँग छलफल गर्ने निर्णय गरेको छ ।

वैंशाख ३१ को चुनावका लागि निर्वाचन आयोगले यसअघि नै निर्वाचन कार्यतालिका सार्बजनिक गरेको छ, जस अनुसार उम्मेदवारी दर्ता १६ गते सम्म तोकिएको छ । बैठकले प्रदेश नम्बर २ र ५ मा स्थानीय तहको संख्या पनि बढाउने भएको छ । यसका लागि उपप्रधान एवं स्थानीय विकासमन्त्री कमल थापाको नेतृत्वमा कार्यदल गठन गरेको छ ।

बैठकले मधेशी मोर्चासँग भएको सहमति अनुसार संविधान संशोधन विधेयकमा परिर्माजन गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिए ।

अब संशोधन विधेयक पास भएपछि सीमांकन हेरफेरबारे सिफारिस गर्न उच्चस्तरीय संघीय आयोग गठन हुने भएको छ । त्यस्तै बैठकले संसोधन प्रस्तावलाई सहयोग गर्दै निर्वाचनमा भाग लिन प्रतिपक्षी दललाई आग्रह गर्ने निर्णय गरेको कार्कीले बताए ।