स्थानीय तहको निर्वाचनमा जुट्न मन्त्री पाण्डेको कर्मचारीलाई निर्देशन

काठमाडौँ, १ फागुन । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले सरकार आगामी जेठभित्र स्थानीय तहको निर्वाचन गर्न केन्द्रित भएकाले तयारीमा जुट्न मन्त्रालयका कर्मचारीलाई निर्देशन दिएका छन ।

मन्त्री पाण्डेले स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन कार्यान्वयन भएसँगै क्रियाशील हुने नगरपालिका, गाउँपालिका तथा वडा कार्यालयको भवन निर्माणमा एकरुपता आउने गरी मापदण्ड बनाएर अघि बढ्नुपर्ने बताए । नगरपालिका र गाउँपालिकाका केन्द्र र वडाको केन्द्रमा रहनुपर्ने अत्यावश्यक न्यूनतम् पूर्वाधार विकासका लागि स्पष्ट नीति बनाई सोअनुसार बजेटको व्यवस्थापन गर्न जोड दिए ।

मन्त्री पाण्डेले भने “नगरपालिका, गाउँपालिका र वडा कार्यालयलाई व्यवस्थित गर्न गर्न अहिलेदेखिनै पूर्वाधारको व्यवस्थापन गर्नुपर्छ, दुई महिनाभित्रै कार्यालय भवन बनाइसक्ने गरी काम गर्नुहोस् ।” मन्त्री पाण्डेले कार्यालय भवन बनाउँदा स्थानीयस्तरमा उपलब्ध सामग्रीको समूचित प्रयोग गर्न पनि निर्देशन दिए ।

लक्षित वर्गले समयमै सामाजिक सुरक्षा भत्ता पाउन नसकेको र रकमको हिनामिना भएको जनगुनासो व्यापक आएको भन्दै उहाँले अनिवार्य रुपमा बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिए ।