स्थानीय तहको निर्वाचनमा दलहरुबीच सहमति जुट्नुपर्छः प्रकाशमान सिंह

काठमाण्डौ, ४ वैशाख । नेपाली काँङ्ग्रेसका नेता प्रकाशमान सिंहले संविधान निर्माणमा सहमति जुटेजस्तै स्थानीय तहको निर्वाचनमा पनि दलहरुबीच सहमति जुट्नुपर्ने बताएका छन् ।

लौहपुरुष गणेशमान सिंहको स्मृतिमा निर्माण भएको गणेशमान सिंह स्मृति पार्कको मूलद्वारको सोमबार जहरसिंहपौवामा उद्घाटन गर्दै नेता सिंहले दश महिनाभित्र तीन तहको निर्वाचन गर्नुपर्ने भएकाले दलहरुबीच सहमति आवश्यक रहेको बताए ।

नेता सिंहले नेपालमा भएका हरेक राजनीतिक परिवर्तनको नेतृत्व काँङ्ग्रेसले गरेको भन्दै अब आर्थिक क्रान्तिको नेतृत्व पनि काँङ्ग्रेसले गर्ने स्पष्ट पारे । उनले वि. सं. २०४६ सालको परिवर्तनमा गणेशमान सिंहको ठूलो भूमिका रहेको भन्दै सिंहको स्मृतिमा पार्क बनाएर योगदानको उच्च मूल्याङ्कन भएको बताए ।

वि. सं. २०७१ सालदेखि ३०० रोपनी क्षेत्रफलमा बन्न लागेको उक्त पार्क निर्माणमा तीन अर्ब लाग्ने पार्क निर्माण समितिले जनाएको छ । हालसम्म चार करोड रकम बराबरको काम भइसकेको छ ।

पार्कभित्र फुटबल मैदान, ब्याडमिन्टन कोर्ट, भलिबल मैदान, भ्यू टावर, पोखरी, हेलिप्याड, गणेशमान सिंहको शालिक, रेष्टुरेन्ट अादि निर्माण गरिने समितिले जानकारी दिएको छ ।