स्थानीय तहको निर्वाचनमा तीन चरणको सुरक्षा रणनीति अपनाइने

कमला हमाल/नेपालगञ्ज, ४ वैशाख । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधी वैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तहको चुनावका लागि केही प्रतिकुलता रहेको बताएका छन् ।

यद्दपि प्रतिकुलताका बाबजुद पनि चुनाव सफल हुने उनले बताए । सुरक्षा निकायका प्रमुख तथा मध्यपश्चिम विकास क्षेत्रका १५ जिल्लाका सुरक्षा प्रमुखलाई निर्देशन दिँदै गृहमन्त्री निधीले चुनावपूर्व, चुनावको अवधी र चुनावपछि गरी तीन चरणको सुरक्षा रणनीति तयार पारिएको जानकारी दिए ।

गृहमन्त्री निधीले केन्द्रीय सुरक्षा नीति र योजना बनाएर कार्यान्वयन गरिएको बताउँदै मतदाता, उम्मेदवार, राजनीतिक दल, चुनावमा खटिने कर्मचारी लगायत मतदानस्थल र बाहिरको सुरक्षाको जिम्मा सरकारको भएको बताए ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग गरी चारवटै सुरक्षा निकायबीच समन्वयात्मक भूमिकामा सुरक्षा परिचालन गरिने निधीले जानकारी दिए ।