June 24, 2017

स्थानिय निर्वाचनको मिति घोषणा विरुद्ध नयाँ शक्ति पार्टी आन्दोलनमा उत्रिने

काठमाडौं १२ फाल्गुन । नयाँ शक्ति पार्टीले नयाँ संविधान अनुसारको प्रदेश र स्थानीय तहको सीमांकनको विषय टुंगोमा नपुगी स्थानीय तह निर्वाचनको घोषणा विरुद्ध आन्दोलनमा उत्रिने सँकेत दिएको छ ।

नयाँ शक्ति पार्टीको कार्यालयमा बिहीबार संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय गठबन्धनका नेताहरु सँग  छलफल गर्दै आन्दोलनका लागि महागठबन्धन निर्माण गरेर अघि बढ्नुपर्ने बैठकमा सहभागी नेताहरुले बताएका छन् ।

बैठकमा नयाँ शक्ति पार्टीकातर्फबाट संयोजक डा. बाबुराम भट्टराई, सह–संयोजक रामचन्द्र झा, संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका संयोजक महन्थ ठाकुर, संघीय गठबन्धनका संयोजक उपेन्द्र यादव, संघीय समाजवादी फोरमका उपाध्यक्ष अशोक राई, जनजाति राष्ट्रिय आन्दोलनका तर्फबाट डा. ओम गुरुङ्ग, मधेशी राष्ट्रिय लोकतान्त्रिक पार्टीका महासचिव केशव झा, मञ्चसम्बद्ध लिम्बुवान राज्यपरिषद्का अध्यक्ष कुमार लिङ्देन, खसान संघर्ष समितिका संयोजक प्रेमबहादुर खातीलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

नयाँ शक्ति पार्टीले असन्तुष्ट पक्षहरुको माग सम्बोधन गर्न संविधान संशोधन , प्रदेश सीमांकनको विषय हल गर्नुपर्ने, स्थानीय तहको पुन:संरचना विवाद अन्त्य , निष्पक्ष निर्वाचनका लागि सर्वपक्षीय सरकार , राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था , मितव्ययिताका लागि तीनवटै तहको निर्वाचन एकैचोटी गर्नुपर्ने लगायतका माग राख्दै आएको छ ।