सौर्य ऊर्जा बारे कागजात सहित उपस्थित हुन सरकारलाई निर्देशन

काठमाण्डौ, ३० असार । सौर्य विद्युत् उत्पादन सम्बन्धी कार्य तत्काल स्थगन गरी तीन दिनभित्र सम्पूर्ण कागजात उपलब्ध गराउन संसदीय समितिले सरकरलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा शुक्रबार बसेको संसदको सार्वजनिक लेखा समितिको बैठकले प्राधिकरणले स्थापना गर्न लागेको २५ मेगावाट क्षमताको सौर्य ऊर्जाका सम्बन्धमा भएका काम कारबाही गलत देखिएको भन्दै सम्पूर्ण कागजातको अध्ययन  गर्ने निर्णय समेत गरेको छ । विश्व बैंकको ऋण सहयोगमा नुवाकोटमा सो सौर्य प्रणाली जडान कार्य निर्माण हुन लागेको थियो ।

समिति सभापति डोरप्रसाद उपाध्यायले सौर्य ऊर्जा प्रणाली जडानका सम्बन्धमा हालसम्म भएका सबै गतिविधि स्थगित गरी सम्पूर्ण कागजात तीन दिनभित्र उपलब्ध गराउन ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिइएको जानकारी दिए । बैठकमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कम बोलकबोल गर्ने नै प्राधिकरणको लागि योग्य हुने भए पनि प्राविधिक मूल्याँकनमा त्यस्तो कम्पनी असफल भएको बताए । आफू आउनुभन्दा पहिलेका कार्यकारी निर्देशकले नै प्रक्रिया बिगारेका कारण समस्या आएको उनको भनाई छ ।

बैठकमा समिति सदस्यहरुले सार्वजनिक खरिद ऐनको प्रावधान विपरिर्त ठेक्का दिने निर्णय भएको भन्दै आपत्ति जनाएका थिए । कुल २५ मेगावाट क्षमताको सौर्य ऊर्जा प्रणालीका लागि १६ वटा बोलपत्र प्राप्त भएकोमा अन्तिम छनौटमा रहेको पाँच बोलपत्रमध्ये तीन वटा मात्रै योग्य देखिएको थियो ।