October 24, 2017

सेनाले पुरा गर्याे उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम

काठमाण्डौ, २७ फाल्गुन । नेपाल सरकार, रक्षा मन्त्रालय र नेपाली सेनाले संयुक्त रुपमा सञ्चालन गरेको दोस्रो उच्च स्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न गरेको छ ।

रक्षामन्त्री बालकृष्ण खाणले शिवपुरीस्थित नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजमा एक समारोहबीच समापन गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

उक्त कार्यक्रमको शुभारम्भमा सो कलेजका शिक्षाध्यक्षले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने रक्षामन्त्री खाणले आफ्नो मन्तव्य व्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिए ।

उनले तालिमबाट सिकेको ज्ञानले आगामी दिनहरुमा कार्यकुशलता र कार्य सम्पादन क्षमतामा थप अभिवृद्धि हुन गई राष्ट्र र जनताप्रतिको सेवा प्रवाहमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रमकै दौरानमा खाणले तालिमका सहभागिहरुलाई प्रमाण पत्र समेत प्रदान गरेका थिए ।

मिति २०७३ फाल्गुन १७ गतेबाट २७ गतेसम्म सञ्चालन भएको उक्त तालिममा नेपाल सरकारका विभिन्न निकायका पदाधिकारीहरु तथा नेपाली सेना लगायत अन्य सुरक्षा निकायका अधिकृतहरु गरी जम्मा १८ जना थिए ।

उक्त समापन समारोहमा प्रधान सेनापति महारथी राजेन्द्र क्षत्री, रक्षा सचिव श्रीधर सापकोटा, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेनाका रथीबृन्द, विभिन्न विषयका विज्ञहरु, बुद्धिजीवीहरु, सञ्चारकर्मीहरु एवं सैनिक अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।