सेती नदीमा २ युवक बेपत्ता

रोजेन्द्र जोशी/ दिपायल, २९ चैत्र । डोटी जिल्लाको दिपायलमा रहेको सेती नदीले दुई युवकहरुलाई बगाएर बेपत्ता पारेको छ । यो घटनासँगै चैत्र महिनामा मात्र सेती नदीमा बेपत्ता हुनेको संख्या ५ पुगेको छ ।

नदीमा बगेर बेपत्ता हुनेहरुमा काभ्रेपलान्चोक जिल्ला गैरीविसौना गाविस घर भएका वर्ष २२ का कृष्ण प्रसाद दंङ्गाल र महोत्तरी जिल्ला बर्दिवास घर भएका वर्ष १९ का विशाल श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

दिपायलमा निर्माणाधिन सेती प्राविधिक शिक्षालय भवनमा काम गर्ने दुई जना युवकहरु दिउँसो १२ः३० को समयमा नुहाउन जाँदा नदीले बगाएको ईलाका प्रहरी कार्यालय दिपायलका असई डिल वहादुर कुँवरले जानकारी दिए ।

नदीमा बेपत्ता भएका युवकहरुको खोजी कार्य जारी रहेको ईलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ । नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासिन्दाहरु खोजी कार्यमा लागिरहेका छन् ।