सूचना तथा सञ्चार मन्त्रालय अन्तर्गतका निकायको पुनर्संरचनाका विषयमा बहस

काठमाण्डौ, ८ चैत्र । सङ्घीयता अनुरुप सूचना तथा सञ्चार मन्त्रालय अन्तर्गतका निकायको पुनर्संरचनाका विषयमा बहस सुरु भएको छ ।

राष्ट्रिय आमसञ्चार नीति, २०७३ कार्यान्वयन सुझाव समितिले मंगलबार काठमाण्डौमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री सुरेन्द्रकुमार कार्कीले साझा नेपाल निर्माण गर्दा ग्रामीणस्तरका जनतालाई अधिकार सम्पन्न गराउने गरी मन्त्रालय मातहतका कार्यालयको पुनर्संरचना गरिनुपर्ने बताए ।

सार्वजनिक सेवा प्रसारण (पिएसबी) का नकारात्मक पक्ष अध्ययन गरेर यस विषयमा अघि बढ्नुपर्ने मन्त्री कार्कीको भनाइ थियो । एक हप्ताभित्र मन्त्रालय मातहतका निकायलाई पुनर्संरचनाको खाका पेस गर्न उनले निर्देशन दिए ।

समितिका अध्यक्ष काशीराज दाहालले मन्त्रालय अन्तर्गतका निकायलाई सङ्घको ढाँचाभित्र कसरी समावेश गर्ने भनि सुझाव लिन कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।