August 23, 2017

सूचना आयोगद्वारा सबै जिल्लामा सम्पर्क कार्यालय माग

काठमाण्डौ, २६ फाल्गुन । राष्ट्रिय सूचना आयोगले मुलुकका सबै जिल्लामा आयोगको सम्पर्क बिन्दु स्थापना गर्न सरकारसँग माग गरेको छ ।

सूचना आयोगले आर्थिक वर्ष ०७२/७३को वार्षिक प्रतिवेदन बिहीबार सरकारलाई बुझाउँदै आयोगले संघीय संरचनामा प्रादेशिक सूचना आयोग गठन गर्न पनि माग गरेको छ ।

प्रतिवेदनमा सूचनाको हकसम्बन्धी कानुनको भावना विपरीत २ सय ७० वटा कानुनमा रहेका गोपनियताको प्रावधानलाई समेत परिमार्जन गर्न सुझाव दिइएको छ ।

विश्वविद्यालय र विद्यालयको पाठ्यक्रममा समेत सूचनाको हक समावेश गर्नुपर्ने सुझावसहित आयोगले सूचनाको हकलाई सुनिश्चित गर्न संघीय संरचनामा प्रादेशिक सूचना आयोग गठन गर्न माग गरेको प्रमुख सूचना आयुक्त कृष्णहरी बास्कोटाले जानकारी दिनुभयो ।

आयोगमा आर्थिक वर्ष २०७२ र ७३ मा ६ सय ७८ वटा सूचनाको हकसम्बन्धी उजुरी परेकोमा ६ सय ७४ वटा फर्छ्यौट भएको प्रतिवेदनमा उल्लेख छ ।