October 24, 2017

सुर्खेतको वीरेन्द्रनगर बजार सिसि टिभी क्यामेराको निगरानीमा

रमेश कुमार पाण्डे

सुर्खेत, १७ चैत्र । अपराधिक गतिविधिलाई रोक्नका लागि ६ नम्बर प्रदेशको सम्भावित राजधानीको रुपमा चर्चामा रहेको वीरेन्द्रनगरमा सीसी टिभी क्यामेरा जडान गरिएको छ ।
सुर्खेत उद्योग बाणिज्य संघ, वीरेन्द्रनगर नगरपालिका र अन्य विभिन्न संघ संस्थाको सहयोगमा वीरेन्द्रनगरका विभिन्न स्थानहरुमा क्यामरा जडानको कार्य गरिएको छ ।
मध्यपश्चिका क्षेत्रीय प्रशासक ब्रिगेन्द्रराज शर्मा पौडेलले सीसी टिभी क्यामेराको उदघाटन गर्दै क्यामेरा राखिएका ठाँउमा ठुलो अक्षरले तपाई सीसी क्यामेराको निगरानीमा हुनुहुन्छ भन्ने सन्देश लेखिएका साइन बोर्ड राख्न सुझाव दिए ।
सीसी क्यामेरा जडान भएपछि अपराधिक क्रियाकलाप नियन्त्रण गर्न सहज हुने उनले बताए ।सुर्खेत उद्योग वाणिज्य संघ नेतृत्वमा वीरेन्द्रनगरका मुख्य चौक–चौकमा १५ लाख ९ हजार ८४१ रुपैँयाको लागतमा क्यामेरा जडान गरिएको हो । मुख्यतः मंगलगढी चौक, बसपार्क, नेता चौक, नगर प्रहरी कार्यालय अगाडी, एमाले पार्टी कार्यालय अगाडी, बुद्धपथ, वीरेन्द्रचौक, पीपल चौतारा, यारीचौक, बीच बजार, खार्केखोला लाइन, गोदामलाइन लगायतका ३१ स्थानमा क्यामरा जडान गरिएको सुर्खेत उद्योग वाणिज्य संघ सुर्खेतका अध्यक्ष प्रकाश अधिकारीले जानकारी दिए ।
उनका अनुसार ३१ स्थानमा जडान भएको क्यामराले दृष्य र भिडियो रेकर्ड हुनेछ । पहिलो चरणमा वीरेन्द्रनगरका ३१ स्थानमा क्यामरा जडान गरिएको बताए । एउटा क्यामेराले ९० मिटर टाढासम्म दृष्यलाई सहज रुपमा रेर्कड गर्न सक्ने छ । ‘क्यामरा जडानले वीरेन्द्रगरमा हुने अपराधिक गतिविधि र सडक दुर्घटना कम हुन्छ’ अध्यक्ष अधिकारीले भने,‘यो सँगै व्यवसायिक सुरक्षा पनि हुनेमा विश्वास छ ।’
वीरेन्द्रनगर नगरपालिकालाई व्यवसायीहरुले बुझाउँदै आएको करको ५० प्रतिशत रकमबाट ९ लाख र उद्योग बाणिज्य संघबाट ५ लाख अन्य संघ संस्थाको सहयोगमा क्यामरा जडान गरिएको अध्यक्ष अधिकारीको भनाई छ ।
वीरेन्द्रनगर नगर भित्र अपराधका गतविधिमा संलग्न भएर भागेर जाने मुख्य द्वार पुग्दासम्म प्रहरीले पक्राउ गर्नमा सहजता हुने जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी मोहन आचार्यले बताए ।