July 24, 2017

सुरुङ्ग खनेर कैदी भाग्न खोजेपछि कारागारमा तनाव

 

 

 

 

दिनेश शर्मा

राजविराज, १० फाल्गुन । सुरुङ्ग खनेर कैदी भाग्न खोजे पछि सोमबार सप्तरी जिल्ला कारागारको महिला ब्लकमा तनाव उत्पन्न भएको छ ।

महिला ब्लकमा राती शंकास्पद आवाज आउने गरेको भन्दै कारागार सुरक्षार्थ खटिएको प्रहरीको टोलीले चेकजाँच गरेपछि तनाव उत्पन्न भएको हो ।

प्रहरीले सुरक्षा चासो देखाउँदै ब्लक निरिक्षण गर्न खोज्दा कैदीले भित्रबाटै ताला लगाएर ढोका बन्द गरेपछि घटना थप शंकास्पद बनेको थियो ।

सुरक्षामा खटिएका प्रहरी नायव निरिक्षक घनश्याम रायले भने ‘भित्रबाट आवाज आएको सुनेपछि हामीले चेक गर्न खोज्यौ, तर कैदीले भित्रबाटै  ढोका बन्द गरेपछि थप शंका उत्पन्न भएको हो ।’

मंगलबार मानवअधिकारकर्मी, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि र सञ्चारकर्मी समेतको टोलीले कारागार स्थित महिला ब्लकको निरीक्षण पनि गरेको छ ।

निरीक्षणकाक्रममा प्रहरीले शंका गरेजस्तो अवस्था भने फेला परेन । कैदीले भने प्रहरीले दुब्र्यवहार गर्न थालेपछि भित्रैबाट ढोका बन्द गरेको बताए । राती ब्लक भित्रबाट आवाज आएको विषयमा भने उनीहरुले पंखा बिग्रिएका कारण आवाज आउने गरेको बताए ।

निरीक्षणकाक्रममा प्रहरीको नेतृत्व गरेका डिएसपी दानबहादुर कार्की समक्ष महिला कैदीहरुले गुनासो गर्दै भने ‘अपराध गरे अनुसारको सजाय त अदालतले दिएकै छ, झ्यालखानमा कोचिएर बसेका छौं, त्यसमाथि प्रहरीले नै अपशब्द र दुब्र्यवहार गरी पीडा माथि पीडा दिन्छन् ।’

अपहरण तथा शरीर बन्धक मुद्दामा कैद भुक्तान गरिरहेकी रामसुन्दरीदेवी यादवले भनिन् ‘८ जना क्षमताको महिला ब्लकमा २३ जनालाई कोचेर राखिएको छ, त्यसमाथि प्रहरीले शान्तिसँग बस्न दिएका छैनन् ।’

कारागार सुरक्षाका लागि खटेका नायव निरीक्षकले जथाभावी बोलेर दुब्र्यवहार गर्ने गरेको र त्यसो नगर्न सुझाव दिँदा कारागार सरुवा गर्दिने धम्कि समेत दिने गरेको उनले बताईन ।

‘साँगुरो कोठामा दाउरा बालेर खाना बनाउनु पर्दा धुवाँले आँखाको रोग लागेको, एउटा मात्र चुलो भएका कारण पालो पर्खेर बस्नु परेका छ । ट्युवेल पनि एउटा मात्रै छ, नुहाई–धुवाई र सरसफाईमा समस्या परेको छ । कारागारको टेलिफोन सेट बिग्रीएको एक हप्ता बितिसक्दा पनि मर्मत गरिदिएका छैनन् ।’

त्यस्तै द्रौपदि चौधरीले भनिन् ‘ओस लागेको कोठामा कोचिएर बस्नुपर्दा कारागार आफुहरुका लागि सुरक्षागृह भन्दा बढि यातना गृह बनेको छ ।’

६५ वर्षिया वृद्धा सुमित्रादेवी साहले बाहिर पट्टीको मुल ढोका बन्द गरेर आफुहरुलाई बिहान ७ बजेदेखि साँझसम्म बरण्डामा बस्ने ब्यवस्था मिलाई दिन डिएसपी कार्की समक्ष आग्रह गरिन ।

सबै महिला कैदीको समस्या सुनेपछि डिएसपी कार्कीले सबै समस्या स्थानीय स्तरबाट पुरा गर्न सकिने भएकोले त्यसप्रति आफुहरुले पहल गर्ने बताए ।

१ सय २५ जना कैदिको क्षमता रहेको सप्तरी जिल्ला कारागारमा हाल ३ सय ६५ जना कैदी राखिएको छ ।